उदयपुरको प्रमुख तीनवटै लोकमार्गसँगै ग्रामिण सडकहरु अवरुद्ध – Sagarmathapana:: Online News Portal

उदयपुरको प्रमुख तीनवटै लोकमार्गसँगै ग्रामिण सडकहरु अवरुद्ध

   २०८१ आश्विन १२ गते  

उदयपुर : उदयपुरको प्रमुख तीनवटै लोकमार्गसँगै ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। विगत तीन दिनदेखि परेको पानीले सिद्धिचरण, मदन भण्डारी र सगरमाथा लोकमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याउँदै सडक अवरुद्ध भएको हो।

सिद्धिचरण लोकमार्गको कटारी-घुर्मी खण्डको उदयपुरको कटारी नगरपालिका-८ गेरुडाँडा, वडा नं १४ को चनौटेमा सडकमाथिको लेदोमाटो पहिरोमा परिणत हुँदा बिहानैदेखि सडक अवरुद्ध भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार सबैभन्दा बढी सिद्धिचरण लोकमार्गमा क्षति पुर्‍याएको छ। पहिरो पन्छाउन सडक डिभिजनसँग समन्वय भए पनि पानी नरोकिएकाले सूचारु गर्न कठिनाई भएको उनले बताए।

त्यस्तै सोही लोकमार्गको कटारी नपा-२ स्थित अमाही खहरेखोलामामा आएको बाढीले कटारी-बेलसोत सडकखण्ड अवरुद्ध भएको छ। अवरुद्ध सडक सूचारु गर्ने प्रयास जारी राखे पनि पानी नरोकिएकाले सूचारु गर्न नसकिएको एसपी योगीले बताए।

यसैगरी मदन भण्डारी लोकमार्गको बेलका नपा-४ लालबजारस्थित सिसुवा खोलामा बाढी आउँदा आवतजावत गर्ने कजवेमा रोक लगाइएको छ। खोला तर्नेक्रममा कजवेमा चिप्लियर लड्ने खतरा बढेकाले रोक लगाइएको उनले बताए।

मुख्यलोकमार्गसँगै ग्रामिण सडकहरुसमेत अवरुद्ध भएका छन्। पानीले ठाउँ-ठाउँका ग्रामिण सडकहरू कामै नलाग्ने गरी भत्काएपछि सबै सडकहरू अवरुद्ध भएका हुन्। चाडँपर्व नजिकिँदै गर्दा सडकहरू कामै नलाग्ने गरी भत्किन थालेपछि सर्वसाधरणमा चिन्ता बढेको छ।

त्यस्तै सगरमाथा लोकमार्गको रानीबास-फोक्सीन्टार खण्डमा ठाउँ-ठाउँमा पहिरो गएको समाचार प्राप्त भएको छ। जताततै पहिरोले सडक अवरुद्ध हुन थालेपछि यात्रुलाई हुन सक्ने जोखिम, अलपत्रलाई मध्यनजर गरी ट्राफिक प्रहरीको सहायतामा जिल्ला प्रहरी कार्यालयले हेल्पडेक्स स्थापना गरी सवारी साधन आवतजावतमा रोक लगाउन अनुरोध गरिएको एसपी योगीले बताए। प्रहरी हुन सक्ने सम्भावित जोखिम ठाउँमा आवतजावत रोक लगगाउँदै स्थानीयलाई सचेतना जगाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै