हेलो सरकार अब ‘एकीकृत सेवा व्यवस्थापन प्रणाली’ बन्दै, गुनासो २४ घण्टादेखि १५ दिनभित्र टुंग्याउने तयारी – Sagarmathapana:: Online News Portal

हेलो सरकार अब ‘एकीकृत सेवा व्यवस्थापन प्रणाली’ बन्दै, गुनासो २४ घण्टादेखि १५ दिनभित्र टुंग्याउने तयारी

   २०८३ श्रावण २२ गते  

काठमाडौं।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई थप प्रभावकारी बनाउन ‘हेलो सरकार’लाई नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा स्तरोन्नति गर्ने तयारी गरेको छ।

तयार पारिएको अवधारणाअनुसार अब फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमेललगायत विभिन्न माध्यमबाट आएका गुनासो एउटै डिजिटल प्लेटफर्ममार्फत व्यवस्थापन गरिनेछ। सेवाग्राहीले सम्बन्धित कार्यालयमै सिधै गुनासो दर्ता गर्न सक्नेछन् भने आवश्यक परे हेलो सरकारको स्वचालित प्रणालीमार्फत सम्बन्धित निकायमा पठाइने व्यवस्था हुनेछ।

नयाँ प्रणालीमा निःशुल्क नम्बर ११११ मा आएको गुनासोलाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाइनेछ। सेवा नपाएमा गुनासो पुनः हेलो सरकारमै फर्किने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, गुनासोकर्ताले आफ्नो गुनासोको अवस्था, प्रगति र समाधानबारे एउटै प्लेटफर्मबाट जानकारी पाउनेछन्।

प्रस्तावित दिग्दर्शनअनुसार अत्यावश्यक गुनासो २४ घण्टाभित्र, अति जरुरी तीन दिनभित्र, जरुरी सात दिनभित्र र सामान्य गुनासो १५ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था गरिनेछ। समाधानपछि सेवाग्राहीबाट पृष्ठपोषण लिएपछि मात्रै गुनासो फर्छ्योट हुने व्यवस्था पनि रहनेछ।

यता, हेलो सरकारमा नागरिकको आकर्षण उल्लेखनीय रूपमा बढेको देखिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ६९ हजार ७२४ गुनासा दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३२१ प्रतिशत बढी हो। पछिल्ला पाँच वर्षमा दर्ता भएका कुल गुनासामध्ये करिब ५६ प्रतिशत गुनासा गत आर्थिक वर्षमै प्राप्त भएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको साउन १ देखि १८ गतेसम्म मात्रै ९ हजार ६१० गुनासा दर्ता भइसकेका छन्, जसमध्ये ६ हजार ६०१ गुनासो फर्छ्योट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै