NATTA अध्यक्ष उम्मेदवार जिस्वान तुलाधरले सार्वजनिक गरिन् १२ बुँदे प्रतिबद्धता–पत्र
काठमाडौं।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि अध्यक्ष पदकी उम्मेदवार जिस्वान तुलाधरले आफ्नो १२ बुँदे निर्वाचन प्रतिबद्धता–पत्र सार्वजनिक गरेकी छन्। पर्यटन व्यवसायको आधुनिकीकरण, नीतिगत सुधार, व्यवसायीको हित संरक्षण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै उनले प्रतिबद्धताहरू सार्वजनिक गरेकी हुन्।


प्रतिबद्धता–पत्रमा अन्तर्राष्ट्रिय प्रवर्द्धन तथा डिजिटल बजारीकरण, पर्यटनसम्बन्धी नीतिगत तथा कानुनी सुधार, नयाँ उद्यमी तथा साना व्यवसायलाई प्रोत्साहन, व्यवसाय संरक्षण र राहत हस्तक्षेप, आउटबाउन्ड पर्यटनलाई आधिकारिक मान्यता, साहसिक तथा नयाँ पर्यटन विधाको प्रवर्द्धन, क्षमता अभिवृद्धि, संस्थागत पारदर्शिता, प्रदेशस्तरीय सञ्जाल सुदृढीकरण, समावेशी नेतृत्व, दिगो पर्यटन प्रवर्द्धन तथा IATA र टिकटिङ प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाइएको छ।


तुलाधरले पर्यटन व्यवसायीको हकहितलाई केन्द्रमा राख्दै NATTA लाई अझ प्रभावकारी, पारदर्शी र व्यवसायमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। आगामी नेतृत्वले पर्यटन क्षेत्रका चुनौती समाधान गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ।















