काठमाडौंमा हुने अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन अन्तिम समयमा रद्द,चीनको चासोबारे चर्चा
काठमाडौं।भदौ ७ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको इन्टरनेशनल एसोसिएसन फर टिब्बेटन स्टडिज (IATS) को अन्तर्राष्ट्रिय सम्मेलन सरकारको निर्देशनपछि अन्तिम समयमा रद्द गरिएको छ।
चार वर्षअघि नै नेपाललाई आयोजकका रूपमा चयन गरिएको उक्त सम्मेलन स्थगित भएपछि यसको पृष्ठभूमिमा चिनियाँ कूटनीतिक चासो रहेको चर्चा सुरु भएको छ। सरकारी स्रोतका अनुसार सुरक्षा निकायहरूले सम्मेलनबाट कुनै सुरक्षा जोखिम नरहेको निष्कर्ष दिए पनि परराष्ट्र सचिव अमृतबहादुर राईसँगको परामर्शपछि मुख्यसचिव गोविन्दबहादुर कार्कीले आयोजक पक्षलाई कार्यक्रम नगर्न निर्देशन दिएका थिए।

यसअघि गृहमन्त्री सुधन गुरुङले सम्मेलन नरोकिने र सहभागीहरूले सामान्य सुरक्षा प्रक्रिया मात्रै पूरा गर्नुपर्ने बताएका थिए। तर केही दिनमै सरकारको निर्णय परिवर्तन भएको हो।
स्रोतका अनुसार सम्मेलनमा तिब्बतसँग सम्बन्धित संवेदनशील विषय उठ्न सक्ने चिन्ता व्यक्त गर्दै नेपालस्थित चिनियाँ राजदूत चाङ माओमिङले परराष्ट्र सचिवसँग छलफल गरेका थिए। त्यसपछि चीनबाट आएका केही उच्चस्तरीय प्रतिनिधिहरूले पनि यस विषयमा चासो देखाएको बताइएको छ।


सरकारका एक अधिकारीका अनुसार सम्मेलन रोक्ने निर्णय मन्त्रिपरिषद्बाट नभई प्रशासनिक तहबाटै कार्यान्वयन गरिएको थियो। मुख्यसचिव कार्कीले पनि कार्यक्रम संवेदनशील बन्न सक्ने र सुरक्षा चुनौती उत्पन्न हुन सक्ने आकलनका आधारमा आयोजकलाई सम्मेलन स्थगित गर्न सुझाव दिइएको बताएका छन्।


यता आयोजकहरूले भने सम्मेलन कुनै राजनीतिक कार्यक्रम नभई तिब्बती इतिहास, भाषा, संस्कृति, कला, दर्शन र धर्मसम्बन्धी विशुद्ध शैक्षिक तथा प्राज्ञिक सम्मेलन भएको स्पष्ट पारेका छन्। सन् २०२२ मै नेपाललाई आयोजनाको जिम्मेवारी दिइएको उक्त सम्मेलनमा ३९ देशका करिब ७२० प्रतिनिधि सहभागी हुने तयारी थियो। चीनका विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थाका करिब १०० विद्वान्ले समेत सहभागिताका लागि नाम दर्ता गराइसकेका थिए।
सम्मेलन रद्द भएसँगै नेपालमा पहिलोपटक आयोजना हुने अवसर गुमेको छ। साथै, यस निर्णयलाई नेपाल–चीन सम्बन्ध तथा नेपालको परराष्ट्र नीतिसँग जोडेर विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ।












