नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नयाँ दुईपाङ्ग्रे सवारीको आकर्षण,दर्जनौं ब्रान्डले गर्ने नयाँ मोडल सार्वजनिक
काठमाडौं।नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दुईपाङ्ग्रे सवारीसाधनका नयाँ मोडलहरूको विशेष आकर्षण रहने भएको छ। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले नेपाली बजारका लागि नयाँ मोटरसाइकल र विद्युतीय स्कुटर सार्वजनिक गर्ने तयारी गरेका छन्।
![]()
![]()
एक्स्पोमा बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूजो, अल्ट्राभोइलेट, सीएफ मोटो, ट्रायम्फलगायतका ब्रान्डहरूको सहभागिता रहनेछ। विशेषगरी विद्युतीय स्कुटर र एड्भेन्चर मोटरसाइकल यस वर्षको मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।



वैद्य अर्गनाइजेसनले प्रिमियम विद्युतीय मोटरसाइकल अल्ट्राभोइलेट एक्स४७ र मोर्बिडेली ब्रान्डअन्तर्गत टी २५० एक्स एड्भेन्चर बाइक सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीका अनुसार टी २५० एक्स नेपाली बजारमा किफायती एड्भेन्चर बाइकमध्ये एक हुनेछ।
विशाल इन्टरप्राइजेज नेपालले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी नेपाली बजारमा ल्याउँदैछ। ४ किलोवाट–आवर ब्याट्री क्षमता भएको यो स्कुटरले एकपटकको चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। यसको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी, सीजी मोटर्सले हिरो मोटोकर्पको विद्युतीय ब्रान्ड भिडा स्कुटर प्रदर्शन गर्नेछ भने जगदम्बा मोटर्सले टीभीएसको पहिलो एड्भेन्चर मोटरसाइकल आरटीएक्स ३०० सार्वजनिक गर्ने तयारी गरेको छ। यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडले पनि रेट्रो डिजाइनयुक्त एक्सएसआर १५५ नेपाली बजारमा ल्याउने सम्भावना रहेको जनाएको छ।

![]()
यसैबीच, नाइमाले एक्स्पोका लागि ४९ वटा स्टल पारदर्शी लटरी प्रणालीमार्फत बाँडफाँट गरिसकेको जनाएको छ। तीमध्ये २६ स्टल चारपाङ्ग्रे र २३ स्टल दुईपाङ्ग्रे तथा कमर्सियल सवारी ब्रान्डलाई प्रदान गरिएको छ।

नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पोलाई केवल सवारी प्रदर्शनी नभई आधुनिक, दिगो र सबैका लागि पहुँचयोग्य मोबिलिटी प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन्। योजना समितिका अध्यक्ष गौरव शारदाले ४९ ब्रान्डको सहभागिताले उद्योगको उत्साह र विश्वास झल्किएको उल्लेख गरे।
साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा नयाँ सवारीसाधन, अत्याधुनिक प्रविधि, मोबिलिटी समाधान तथा नवप्रवर्तनसँगै ज्ञान आदान–प्रदानका विभिन्न कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।












