मिस नेपाल वर्ल्ड दीपमाला ढकाल र शिक्षामन्त्री पोखरेलबीच भेट
काठमाडौं।मिस नेपाल वर्ल्ड दीपमाला ढकालले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै शिक्षा, गैरआवासीय नेपाली (एनआरएन) को दोस्रो पुस्ता र देशसँग उनीहरूको सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल गरेकी छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘दोस्रो पुस्ता संयोजक’को भूमिकासमेत निर्वाह गरिरहेकी दीपमालाले विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका युवालाई नेपालसँग जोड्ने, शिक्षा र अवसरका माध्यमबाट मातृभूमिप्रति आकर्षित गर्ने विषयमा आफ्नो धारणा राखेकी थिइन्।
दीपमाला मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली हुन्। उनले क्यान्सर सचेतना अभियानमार्फत देश र डायस्पोराबीचको सम्बन्ध अझ मजबुत बनाउने तथा क्यान्सर अस्पतालको सद्भावना दूतका रूपमा सामाजिक अभियान सञ्चालन गर्ने लक्ष्यसमेत अघि सारेकी छन्।
भेटका क्रममा मन्त्री पोखरेलले पनि दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने पहलमा सरकार सकारात्मक रहेको र आवश्यक सहकार्यका लागि तयार रहेको बताएका छन्।












