निर्मल पुर्जा ‘निम्स दाई’सहित दिवंगत पर्वतारोहीको सम्झनामा माइतीघरमा दीप प्रज्ज्वलन – Sagarmathapana:: Online News Portal

निर्मल पुर्जा ‘निम्स दाई’सहित दिवंगत पर्वतारोहीको सम्झनामा माइतीघरमा दीप प्रज्ज्वलन

   २०८३ श्रावण २० गते  

काठमाडौं।पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित अन्य दिवंगत पर्वतारोहीहरूको सम्झनामा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ।

पर्वतारोहण क्षेत्रसँग आबद्ध व्यक्तित्व, शुभेच्छुक तथा सर्वसाधारणको सहभागितामा आयोजित कार्यक्रममा दिवंगत पर्वतारोहीहरूप्रति मौनधारण गर्दै दीप प्रज्ज्वलन गरिएको थियो। सहभागीहरूले उनीहरूको साहस, समर्पण र नेपालको पर्वतारोहण क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए। 


कार्यक्रममा वक्ताहरूले निर्मल पुर्जा ‘निम्स दाई’ले विश्व पर्वतारोहण क्षेत्रमा नेपाललाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै उहाँको योगदान सधैं प्रेरणाको स्रोत बनेर रहने बताए। ब्रोड पिकमा भएको दुःखद घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको उनीहरूको भनाइ थियो। 

दीप प्रज्ज्वलन कार्यक्रममा सहभागीहरूले दिवंगत सम्पूर्ण पर्वतारोहीहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै