राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल, सूचना प्रवाह प्रभावकारी बनाइने
काठमाडौं- सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
मंगलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चारमाध्यमका पत्रकारसँग भएको छलफलमा मन्त्री पोखरेलले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै यस्ता संवादलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।


उहाँले अन्तरमन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना प्रवाह गर्ने जिम्मेवार व्यक्तिको व्यवस्था गरी सूचना प्रणालीलाई अझ चुस्त र विश्वसनीय बनाइने जानकारी दिनुभयो। साथै खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीतिअनुसार काम अघि बढाइसकेको पनि उल्लेख गर्नुभयो।
छलफलमा सरकारी सूचना प्रवाह सुधार, पत्रकारहरूले सूचना संकलनका क्रममा भोगिरहेका चुनौती तथा सरकार–सञ्चारमाध्यमबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
सहभागी पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच, नियमित अन्तरसंवाद तथा निर्णयबारे समयमै जानकारी उपलब्ध गराउने प्रणाली विकास गर्न सुझाव दिएका थिए। उनीहरूले मन्त्री पोखरेलले पत्रकारसँगको संवादलाई निरन्तरता दिँदै सूचना प्रवाहलाई अझ पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, सरोज गौतम, मन्त्रालयका उच्च अधिकारी तथा कान्तिपुर, हिमालय टेलिभिजन, अनलाइनखबर, सेतोपाटी, रातोपाटी, नेपालखबर, क्लिकमाण्डु, न्यूज एजेन्सी नेपाल, नेपाल टाइम्स, शिलापत्र, बाह्रखरीलगायत राष्ट्रिय सञ्चारमाध्यमका राजनीतिक बिट हेर्ने पत्रकारहरूको सहभागिता रहेको थियो।
मन्त्रालयले यस्ता अन्तरक्रियाले सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप प्रभावकारी, पारदर्शी र विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।












