अमेरिका–इरान वार्ताअघि खाडी क्षेत्रमा तनाव, कुवेतमा अमेरिकी सैन्य अड्डा र जहाजमा ड्रोन आक्रमण – Sagarmathapana:: Online News Portal

अमेरिका–इरान वार्ताअघि खाडी क्षेत्रमा तनाव, कुवेतमा अमेरिकी सैन्य अड्डा र जहाजमा ड्रोन आक्रमण

   २०८३ श्रावण १९ गते  

काठमाडौं।अमेरिका–इरानबीच हुने भनिएको वार्ताअघि खाडी क्षेत्रमा सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले मंगलबार बिहान कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै कम्तीमा तीनवटा ड्रोन आक्रमण गरेको जनाएको छ। घटनाबाट भएको क्षति वा मानवीय हताहतबारे भने तत्काल आधिकारिक पुष्टि भएको छैन।

यसैबीच, यूके मेरिटाइम ट्रेड अपरेसन्स (UKMTO) का अनुसार ओमानको तट नजिकै एक व्यापारिक जहाज अज्ञात वस्तुको प्रहारमा परेको छ। घटनाको अनुसन्धान भइरहेको जनाउँदै उक्त समुद्री क्षेत्रमा आवतजावत गर्ने जहाजहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित वार्तालाई सम्झौताको “अन्तिम अवसर” भएको बताएका छन्। उनले कूटनीतिक प्रयास असफल भए अमेरिका सैन्य विकल्प प्रयोग गर्न पछि नहट्ने चेतावनी दिएका छन्। 

विश्लेषकहरूका अनुसार पछिल्ला घटनाक्रमले फारसी खाडी र होर्मुज जलडमरूमध्यको सुरक्षा जोखिम थप बढाएको छ। कूटनीतिक पहल सफल नभए क्षेत्रीय द्वन्द्व थप फैलिन सक्ने र विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै