गण्डकीमा गाँजा खेती ऐन लागू, औषधीय र औद्योगिक प्रयोजनका लागि कानुनी बाटो खुल्यो – Sagarmathapana:: Online News Portal

गण्डकीमा गाँजा खेती ऐन लागू, औषधीय र औद्योगिक प्रयोजनका लागि कानुनी बाटो खुल्यो

   २०८३ श्रावण १९ गते  

काठमाडौं।गण्डकी प्रदेश सभाबाट दोस्रो पटक पारित भएको गाँजा खेतीसम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती र व्यवसाय सञ्चालनको कानुनी आधार तयार भएको छ। संविधानअनुसार पुनः पारित भएर पुगेको विधेयकलाई सोमबार प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन्।

प्रमाणीकरणसँगै ‘गाँजा खेती तथा व्यवसाय ऐन’ लागू भएको छ। यसले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती, उत्पादन, प्रशोधन र उपयोगलाई नियमन गर्ने कानुनी व्यवस्था गरेको छ। 

यसअघि प्रदेश प्रमुखले संघीय कानुनसँग बाझिने विषय उठाउँदै विधेयक पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएका थिए। त्यसपछि प्रदेश सभाले विधेयकलाई यथावत् रूपमा दोस्रो पटक पारित गरी पुनः प्रमाणीकरणका लागि पठाएको थियो। संविधानको व्यवस्थाअनुसार प्रदेश प्रमुखले उक्त विधेयक प्रमाणीकरण गरेका हुन्।

गण्डकी प्रदेशमा यो ऐन लागू भएसँगै औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको सम्भावना र कानुनी अभ्यासबारे राष्ट्रिय स्तरमा नयाँ बहस सुरु भएको छ। यद्यपि, लागू औषध नियन्त्रणसम्बन्धी संघीय कानुनसँगको समन्वय र कार्यान्वयनको विषय भने अझै महत्वपूर्ण रहने कानुनविद्हरूको धारणा छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै