विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन – Sagarmathapana:: Online News Portal

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन

   २०८३ श्रावण ५ गते  

काठमाडौं।देशभर निरन्तर वर्षा, बाढी र पहिरोजस्ता विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।

मन्त्रालयको स्थानीय तह समन्वय शाखाले जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै कर्मचारीलाई नियमित रूपमा कार्यालयमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्न भनिएको छ। बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याएर सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ।

मन्त्रालयले विपद्को अवधिभर कर्मचारीले कार्यालय नछोडी समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गरेको छ। साथै, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गर्दै उद्धार, राहत, क्षतिको विवरण संकलन तथा अन्य आवश्यक कार्यलाई प्राथमिकता दिन स्थानीय तहलाई आग्रह गरिएको छ।

विशेष परिस्थितिमा कार्यालय छाड्नुपर्ने भए सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्थापन गरी मात्र कार्यालय छाड्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विपद्को समयमा नागरिकलाई छिटो, प्रभावकारी र सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो निर्देशन जारी गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै