रुपन्देहीमा ११ अर्बको ‘लुम्बिनी म्यारियट रिसोर्ट’, २०२७ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य – Sagarmathapana:: Online News Portal

रुपन्देहीमा ११ अर्बको ‘लुम्बिनी म्यारियट रिसोर्ट’, २०२७ जनवरीदेखि सञ्चालन गर्ने लक्ष्य

   २०८३ श्रावण ५ गते  

काठमाडौं।एनआईसी एसिया बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशनकुमार न्यौपानेसहितको लगानीमा रुपन्देहीमा करिब ११ अर्ब रुपैयाँ लागतको ‘लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा’ निर्माण भइरहेको छ। विश्वप्रसिद्ध म्यारियट इन्टरनेसनलको ब्रान्डअन्तर्गत सञ्चालन हुने यस परियोजनाले सन् २०२७ जनवरीदेखि व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखेको छ।

रुपन्देहीको सियारी गाउँपालिकामा निर्माणाधीन रिसोर्टको कुल अनुमानित लागत १० अर्ब ९९ करोड ७० लाख रुपैयाँ रहेको छ। पहिलो चरणमा २०० कोठा सञ्चालनमा ल्याइनेछ भने सम्पूर्ण परियोजना सम्पन्न भएपछि होटलको क्षमता ४५० कोठासम्म विस्तार हुनेछ। सम्पूर्ण निर्माण कार्य आर्थिक वर्ष २०३० भित्र सम्पन्न गर्ने योजना छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले परियोजनाका लागि ५ अर्ब ४९ करोड ६९ लाख रुपैयाँबराबरको बैंकिङ सुविधामा दीर्घकालीनतर्फ ‘आईआरएन डबल बी’ र अल्पकालीनतर्फ ‘आईआरएन ए–४’ रेटिङ प्रदान गरेको छ। परियोजना विकासकर्ता लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले म्यारियट इन्टरनेसनलसँग दीर्घकालीन सञ्चालन तथा व्यवस्थापन सम्झौता गरिसकेको छ।

सन् २०२६ मेसम्म परियोजनाको भौतिक प्रगति करिब ४५ प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत पुगेको छ। यद्यपि आवश्यक ऋणको सम्पूर्ण व्यवस्था अझै बाँकी रहेकाले वित्तीय स्रोत सुनिश्चित गर्नु परियोजनाको मुख्य चुनौती रहेको इन्फोमेरिक्सको प्रतिवेदनमा उल्लेख छ।

परियोजनाको नेतृत्वमा चार्टर्ड एकाउन्टेन्ट दीपक पाण्डे र पूर्व बैंकर रोशनकुमार न्यौपानेलगायत अनुभवी टोली रहेकाले सफल कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। साथै, लुम्बिनी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सुनौली सीमा नाकासँगको नजिकको अवस्थिति परियोजनाको प्रमुख बलियो पक्षका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै