नेपालमा जलवायु–स्मार्ट कृषि प्रवर्द्धन गर्न चीन–FAO साझेदारीको २४ महिने परियोजना सुरु
काठमाडौं।नेपाल सरकार, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) र चीन सरकारको साझेदारीमा ‘Strengthening Agrifood Systems in Nepal’ परियोजना औपचारिक रूपमा शुभारम्भ गरिएको छ। २४ महिनासम्म सञ्चालन हुने यो परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि, खाद्य तथा पोषण सुरक्षा तथा ग्रामीण जीविकोपार्जन सुदृढ बनाउन सहयोग गर्ने लक्ष्य लिएको छ।
चीनको Global Development and South-South Cooperation Fund को आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय संस्थाको क्षमता विकास, जलवायु–स्मार्ट कृषि प्रविधिको विस्तार, डिजिटल कृषि सेवा, पोषण सुधार तथा समावेशी ग्रामीण विकासमा विशेष जोड दिनेछ।
परियोजनाको शुभारम्भ कार्यक्रममा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न यस परियोजनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। नेपालका लागि चिनियाँ राजदूत माओमिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकासका क्षेत्रमा चीनको सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो। FAO की निर्देशिका हुआ याङले यो परियोजना दक्षिण–दक्षिण सहयोगको सफल नमुनाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।
काभ्रेपलाञ्चोक र इलाममा कार्यान्वयन हुने परियोजनामार्फत किसानलाई डिजिटल कृषि विस्तार सेवा, प्राविधिक परामर्श, मौसम पूर्वानुमान, कृषि बीमा, वित्तीय सेवा तथा बजारसम्बन्धी जानकारी उपलब्ध गराइनेछ। साथै महिला, युवा तथा सीमान्तकृत समुदायको सहभागिता बढाउने, स्थानीय संस्थाको क्षमता अभिवृद्धि गर्ने र जलवायु अनुकूलन क्षमता सुदृढ गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
सरकार, FAO र चीनबीचको यो सहकार्यले अन्तर्राष्ट्रिय अनुभव र प्रविधिलाई स्थानीय आवश्यकतासँग जोड्दै नेपालको कृषि तथा खाद्य प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।












