पुँजी बजार र बीमा क्षेत्र सुधारबारे प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल आज – Sagarmathapana:: Online News Portal

पुँजी बजार र बीमा क्षेत्र सुधारबारे प्रधानमन्त्री शाहको उच्चस्तरीय छलफल आज

   २०८३ श्रावण ४ गते  

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आज मध्यान्ह १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग उच्चस्तरीय छलफल गर्ने भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा बजार सुधार, नीतिगत समन्वय तथा अर्थतन्त्र सुदृढीकरणका विषयमा व्यापक छलफल हुने जनाइएको छ।

बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुनेछन्। साथै, पुँजी बजारका विज्ञ प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलको पनि सहभागिता रहनेछ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र तथा बीमा क्षेत्रको सुदृढीकरण, आवश्यक नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा समग्र राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील बनाउने उपायहरूमा केन्द्रित भएर सरोकारवालाको सुझाव संकलन गरिनेछ। 

सरकारले पछिल्लो समय निजी क्षेत्रसँग निरन्तर संवाद बढाइरहेका बेला यस बैठकलाई पुँजी बजारमा विश्वास अभिवृद्धि, नीतिगत स्पष्टता र सुधारका एजेन्डालाई अघि बढाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै