मास्टर्नी’ विवादपछि गायिका बबिना किराँतीको माफी: ‘शिक्षक समुदायप्रति परेको असरका लागि शिर झुकाएर क्षमा चाहन्छु’ – Sagarmathapana:: Online News Portal

मास्टर्नी’ विवादपछि गायिका बबिना किराँतीको माफी: ‘शिक्षक समुदायप्रति परेको असरका लागि शिर झुकाएर क्षमा चाहन्छु’

   २०८३ श्रावण २ गते  

काठमाडौं।चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतलाई लिएर चर्किएको विवादपछि चर्चित गायिका बबिना किराँतीले सार्वजनिक रूपमा माफी मागेकी छन्। शनिबार फेसबुकमार्फत लामो धारणा सार्वजनिक गर्दै उनले उक्त गीतका कारण शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै क्षमा याचना गरेकी हुन्।

बबिनाले आफूले गीत व्यावसायिक जिम्मेवारीका रूपमा उचित पारिश्रमिक लिएर गाएको स्पष्ट पार्दै गीतको शब्दबारे स्टुडियोमा छलफल भएको र निर्माण टिमले यसलाई केवल चलचित्रको प्रमोसन तथा मनोरञ्जनका लागि तयार गरिएको बताएपछि मात्रै स्वर दिएको उल्लेख गरेकी छन्।

उनले सामाजिक सञ्जालमा आफूलाई अनावश्यक रूपमा ट्रोल गरिएको, करियर नै सकिने धम्कीसमेत आएको र नजिकका साथीभाइबाट पनि आलोचना खेप्नुपरेको भन्दै ती घटनाले आफूलाई धेरै कुरा सिकाएको बताएकी छन्। “यदि चर्चा र लोकप्रियताकै लागि काम गर्न चाहेको भए १५ वर्षअघि नै त्यो बाटो रोज्न सक्थें,” उनले लेखेकी छन्।

गायिका किराँतीले नेपाली संगीत बजारमा दोहोरो अर्थ लाग्ने गीत नयाँ विषय नभएको उल्लेख गर्दै यस्ता सामग्री बन्नुमा श्रोता, निर्माता र प्रचार–प्रसार गर्ने सबै पक्षको केही न केही भूमिका रहने धारणा पनि राखेकी छन्।साथै, यस्ता गीत रोक्नुपर्ने हो भने सम्बन्धित निकायले सुरुमै प्रभावकारी नियमन गर्नुपर्ने उनको भनाइ छ।

पोस्टको अन्त्यमा उनले ‘मास्टर्नी’ गीत युट्युबलगायत सबै डिजिटल प्लेटफर्मबाट हटाइसकिएको जानकारी दिँदै शिक्षक समुदाय, आफ्ना शुभेच्छुक तथा दर्शक–श्रोतासँग क्षमा मागेकी छन्।

‘चरी भए भुरुरु जान्थेँ उडेर…’ बोलको गीतबाट चर्चामा आएकी बबिना किराँतीका ‘बेचिदिन्छु यो जवानी’, ‘आएना चाइनाको रेल’, ‘आकाशैमा चिल हो कि बेसारा’, ‘मेरो बुहारीलाई’ (फिल्म बेहुली फर्म मेघौली), ‘यो देशको झण्डा’ (फिल्म अञ्जिला), ‘छोयाको छपनी’, ‘काँडा हो कि फूल हो माया’ लगायत दर्जनौँ गीत लोकप्रिय छन्। विवादका बाबजुद आगामी दिनमा पनि दर्शक–श्रोताको माया र साथ निरन्तर पाइरहने विश्वास उनले व्यक्त गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै