गुरुङ फिल्म एशोसियशन हङकङको तेस्रो अधिवेशन जुलाई २६ मा, नयाँ नेतृत्व चयन हुँदै
हङकङ।गुरुङ भाषा, संस्कृति, भेषभूषा तथा चलचित्र क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सक्रिय गुरुङ फिल्म एशोसियशन हङकङले आफ्नो तेस्रो अधिवेशन आगामी जुलाई २६ मा आयोजना गर्ने भएको छ।
हङकङको जोर्डनस्थित ब्लु ओसियन रेस्टुरेन्ट एण्ड बारमा बिहान ११ बजेदेखि सुरु हुने अधिवेशनमा संस्थाको नयाँ नेतृत्व चयनसँगै आगामी कार्ययोजना तय गरिनेछ। सन् २०१६ मा स्थापना भएको संस्थाले गुरुङ भाषा, संस्कृति र चलचित्रको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर भूमिका खेल्दै आएको जनाएको छ।


अधिवेशनलाई लक्षित गर्दै संस्थाले हालसम्म सदस्यता नलिएका गुरुङ चलचित्रकर्मी, कलाकार तथा प्राविधिकलाई साधारण वा आजीवन सदस्यता लिन आग्रह गरेको छ। सदस्यता लिने अन्तिम मिति जुलाई २४ तोकिएको छ। साधारण सदस्यता शुल्क २०० हङकङ डलर र आजीवन सदस्यता शुल्क १,००० हङकङ डलर निर्धारण गरिएको छ। सदस्यहरूले नयाँ कार्यसमिति चयनमा मतदान गर्न तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको संस्थाले जनाएको छ।
अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै गुरुङ चलचित्र क्षेत्रको विकास, कलाकारहरूको क्षमता अभिवृद्धि तथा भाषा–संस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ।
संस्थाले हङकङमा रहेका सम्पूर्ण गुरुङ चलचित्रकर्मी, कलाकार, प्राविधिक, शुभेच्छुक तथा समुदायका सदस्यलाई अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।
– सुभाष गुरुङ (गणेश), हङकङ संवाददाता













