प्रतिनिधिसभा बैठकको लाइभ स्ट्रीमिङ प्राविधिक समस्याले प्रभावित
काठमाडौं । प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष (लाइभ) प्रसारण प्राविधिक समस्याका कारण प्रभावित भएको छ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार प्राविधिक समस्याका कारण बैठकको लाइभ स्ट्रीमिङ अवरुद्ध भएको हो। समस्याको समाधानका लागि सम्बन्धित प्राविधिक टोलीलाई तत्काल निर्देशन दिइएको र सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको उनले जानकारी दिए।
‘केही प्राविधिक समस्या देखिएकाले सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको छ। कार्यव्यवस्था परामर्श महाशाखाबाट तत्काल समस्या समाधान गर्न निर्देशन भइसकेको छ,’ प्रवक्ता गिरीले भने।
प्रतिनिधिसभाको बैठक भने निर्धारित कार्यसूचीअनुसार सञ्चालन भइरहेको छ। सचिवालयले प्राविधिक समस्या समाधान भएपछि लाइभ प्रसारण पुनः नियमित हुने जनाएको छ।












