मोडल हन्ट नेपाल २०२६ का लागि ४२ प्रतियोगी फाइनलमा छनोट
काठमाडौं-नेपालकै बृहत् तथा प्रतिष्ठित मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०२६’ का लागि ४२ जना प्रतियोगी फाइनल चरणमा छनोट भएका छन्। देशभर सञ्चालन गरिएको विभिन्न अडिसनमार्फत २६ महिला र १६ पुरुष गरी कुल ४२ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि चयन गरिएको आयोजकले जनाएको छ।
फाइनलमा पुगेका प्रतियोगीले अब एक महिनासम्म विशेष ग्रुमिङ तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण लिनेछन्। प्रशिक्षण अवधिमा व्यक्तित्व विकास, शारीरिक प्रस्तुति, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन तथा व्यावसायिक मोडलिङसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञबाट प्रशिक्षण प्रदान गरिनेछ।

आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नुका साथै आगामी सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाउनेछन्।
आयोजकका अनुसार मोडल हन्ट नेपालले नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा उत्पादन गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्दै आएको छ।












