धरानमा गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बीपी प्रतिष्ठान निरीक्षण – Sagarmathapana:: Online News Portal

धरानमा गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताद्वारा बीपी प्रतिष्ठान निरीक्षण

   २०८३ असार २१ गते  

धरान।गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहता ले आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गरेका छन्।

यसअघि धनकुटाको भेडेटार पुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग सुरक्षा अवस्थाबारे समीक्षा गर्दै शान्ति सुरक्षा सुदृढ बनाउन र अपराध नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका थिए।

भेडेटारमा भएको छलफलमा उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित सुरक्षा निकायलाई जनताको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी रूपमा परिचालन हुन, अपराध न्यूनीकरणका लागि समन्वय बढाउन तथा समसामयिक सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेका थिए।

धरान पुगेपछि गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाह, स्वास्थ्य पूर्वाधार, उपचार प्रणाली तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिँदै अस्पताल प्रशासनसँग छलफल गरेका छन्।

मन्त्रीद्वयको निरीक्षणका क्रममा बिरामीलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा समेत आवश्यक सुझाव तथा निर्देशन दिइएको जनाइएको छ।

सरकारले पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको बीपी प्रतिष्ठानको सेवा सुधार, व्यवस्थापन सुदृढीकरण र जनविश्वास अभिवृद्धिलाई प्राथमिकतामा राखेर अनुगमनलाई निरन्तरता दिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै