राष्ट्रिय सभा बैठक स्थगित, विधेयक टेबुल कार्यसूची प्रभावित
काठमाडौं । राष्ट्रिय सभाको बैठक प्राविधिक समस्याका कारण स्थगित भएको छ। बैठकको प्रत्यक्ष प्रसारणमा अडियो नआएपछि रेकर्डिङमा समेत समस्या देखिएकाले सभा स्थगित गरिएको हो।
बैठक सुरु भएको करिब १७ मिनेटसम्म केही सांसदहरूले आफ्ना धारणा राखे पनि प्रत्यक्ष प्रसारणमा अडियो नआएको थियो। त्यसपछि सभाध्यक्षले प्राविधिक समस्या समाधान नभएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेका हुन्।
संसद् सचिवालयका अनुसार समस्या समाधान भएपछि बैठक पुनः सञ्चालन गरिनेछ।
आजको बैठकको कार्यसूचीमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भई आएका विभिन्न विधेयकसम्बन्धी सन्देश टेबुल गर्ने कार्यक्रम रहेको थियो।
प्रतिनिधिसभाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित गरी राष्ट्रिय सभामा पठाइसकेको छ।
प्राविधिक अवरोधका कारण ती विधेयकमाथिको प्रक्रिया केही समयका लागि प्रभावित भएको छ। संसद् सचिवालयले समस्या समाधानका लागि आवश्यक प्राविधिक काम भइरहेको जनाएको छ।












