नेपालको पहिलो SelectUSA प्रतिनिधिमण्डलको अनुभव :अमेरिकामा लगानी र व्यापारका नयाँ अवसर – Sagarmathapana:: Online News Portal

नेपालको पहिलो SelectUSA प्रतिनिधिमण्डलको अनुभव :अमेरिकामा लगानी र व्यापारका नयाँ अवसर

   २०८३ असार १८ गते  

काठमाडौं।नेपालका लागि अमेरिकी दूतावासले नेपालबाट पहिलो पटक सहभागी भएको SelectUSA Investment Summit प्रतिनिधिमण्डलसँग अनुभव आदानप्रदान गरेको छ।

गत साता अमेरिकी दूतावास काठमाडौंमा आयोजित भेटघाटमा कार्यवाहक नियोग उपप्रमुख (CDA) स्कट अर्बोमले यस वर्ष अमेरिकाको मेरील्याण्डमा मे ३ देखि ६ सम्म सम्पन्न SelectUSA Investment Summit मा सहभागी नेपाली प्रतिनिधिहरूलाई स्वागत गरेका थिए।


प्रतिनिधिमण्डलमा Green Tick Nepal का सबिन थापा, SwiftFin Global का सिटेश भट्टराई तथा EventsMo र TechKraft का अनिश श्रेष्ठ सहभागी थिए। उनीहरूले सम्मेलनका क्रममा विभिन्न अमेरिकी राज्यका आर्थिक विकास अधिकारीहरूसँग भेटवार्ता, नयाँ व्यावसायिक सम्बन्ध विस्तार तथा अमेरिकामा व्यवसाय सञ्चालनका सम्भावनाबारे जानकारी हासिल गरेको अनुभव साझा गरेका थिए।

प्रतिनिधिहरूले अमेरिकी विदेश मन्त्रालयका उपसचिव Christopher Landau सँगको भेटलाई पनि उपलब्धिमूलक रहेको बताएका छन्। उनीहरूले ल्यान्डाउले नेपालको विषयमा राम्रो जानकारी राख्दै अमेरिका–नेपालबीच व्यापारिक सम्बन्ध र अमेरिकी लगानीलाई थप सुदृढ बनाउन प्रोत्साहन दिएको उल्लेख गरे।

अमेरिकी दूतावासका अनुसार नेपालको पहिलो आधिकारिक SelectUSA प्रतिनिधिमण्डलले द्विपक्षीय व्यापार तथा लगानी सहकार्यका नयाँ अवसर सिर्जना गरेको छ। आगामी वर्ष अझ ठूलो नेपाली प्रतिनिधिमण्डललाई सम्मेलनमा सहभागी गराउँदै अमेरिका–नेपाल व्यापार तथा लगानी सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै