१८ वर्षमुनिका सदस्यबारे रास्वपाको स्पष्टीकरण, ‘प्राविधिक त्रुटिका कारण प्रारम्भिक तथ्याङ्क सार्वजनिक भयो’
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ सदस्य रहेको उल्लेख भएको विषयमा आधिकारिक स्पष्टीकरण दिएको छ। पार्टीले उक्त तथ्याङ्क अन्तिम प्रमाणित सदस्यता नभई प्राविधिक तथा प्रशासनिक त्रुटिका कारण प्रणालीमा देखिएको प्रारम्भिक आवेदन विवरण मात्र भएको जनाएको हो।
महामन्त्री विपिनकुमार आचार्यले बुधबार जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै बालबालिकालाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने सिद्धान्तप्रति पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
रास्वपाका अनुसार ‘बालबालिका सम्बन्धी ऐन, २०७५’, ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ तथा पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्र पार्टी सदस्य बन्न योग्य हुन्छन्।

पार्टीले हालसम्म डिजिटल प्रणालीमा दर्ता भएका ५ लाख २३ हजार ४६५ सदस्यता आवेदनमध्ये ३ लाख ९० हजार ११२ जनाको मात्रै नागरिकतालगायतका आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भएको जनाएको छ। बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेकाले प्रारम्भिक आवेदन विवरणलाई अन्तिम सदस्यता अभिलेखका रूपमा लिन नमिल्ने स्पष्ट पारिएको छ।
रास्वपाका अनुसार केही आवेदकले सदस्यता आवेदन दिँदा जन्ममितिको सट्टा हालको मिति प्रविष्ट गर्नु, वा वि.सं. र ई.सं. पात्रो प्रणाली गलत छनोट गर्नुका कारण उमेर वास्तविकभन्दा कम देखिएको प्रारम्भिक विश्लेषणबाट खुलेको छ। पार्टीले आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति फरक–फरक प्रशासनिक तथा प्राविधिक चरण भएको भन्दै एप वा वेबसाइटमार्फत आवेदन दिँदैमा सदस्यता स्वीकृत भएको नमानिने जनाएको छ।
यस्तो त्रुटि दोहोरिन नदिन रास्वपाले चारबुँदे सुधार योजना सार्वजनिक गरेको छ। अब १८ वर्षभन्दा कम उमेर देखिने आवेदन स्वतः पहिचान गरी सदस्यता स्वीकृतिको प्रक्रियामा अगाडि बढ्न नदिने व्यवस्था गरिनेछ। यसका साथै प्रमाणीकरण भइसकेका सदस्यताको समेत पुनः परीक्षण गरिने र आधिकारिक कागजातसँग मेल नखाने विवरण सच्याइनेछ।
पार्टीले प्राविधिक वा मानवीय त्रुटिका कारण १८ वर्षभन्दा कम उमेरका कुनै व्यक्तिको सदस्यता स्वीकृत भएको पाइए तत्काल खारेज गरिने जनाएको छ। साथै पात्रो प्रणालीसम्बन्धी त्रुटि रोक्न थप प्राविधिक सुरक्षा अपनाइने र प्रमाणीकरण बाँकी रहेका सबै आवेदन पुनः परीक्षण गरी अद्यावधिक तथ्याङ्क सार्वजनिक गरिने उल्लेख गरिएको छ।
रास्वपाले पर्याप्त प्रमाणीकरण नहुँदै प्रारम्भिक आवेदनका आधारमा तयार गरिएको तथ्याङ्क महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा भ्रम सिर्जना भएको स्वीकार गर्दै त्यसबाट उत्पन्न अन्योलप्रति दुःख व्यक्त गरेको छ।
महाधिवेशनमा तत्कालीन महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा १८ वर्षमुनिका सदस्यको तथ्याङ्क सार्वजनिक भएपछि संसद् तथा विभिन्न सरोकारवालाबाट आलोचना भएको थियो। त्यसपछि पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्दै सम्पूर्ण विवरण पुनः परीक्षण गरी संशोधित तथ्याङ्क यथाशीघ्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।












