उच्च अदालतको फैसला : असई थमन विक हत्या प्रकरणमा एमाले पूर्वसांसद दोषी ठहर, पाँच वर्ष कैद सजाय – Sagarmathapana:: Online News Portal

उच्च अदालतको फैसला : असई थमन विक हत्या प्रकरणमा एमाले पूर्वसांसद दोषी ठहर, पाँच वर्ष कैद सजाय

   २०८३ असार १८ गते  

उच्च अदालतको फैसला : थमन विक हत्या प्रकरणमा पूर्वसांसद लक्ष्मी महतो कोइरी दोषी ठहर, पाँच वर्ष कैद सजाय

काठमाडौं।महोत्तरीमा कार्यरत तत्कालीन सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा जिल्ला अदालतबाट सफाइ पाएका नेकपा (एमाले)का पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालत जनकपुरले दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार जिल्ला अदालत महोत्तरीको फैसला उल्ट्याउँदै कोइरीलाई दोषी ठहर गर्ने निर्णय गरेको हो।

यसअघि जिल्ला अदालत महोत्तरीले २०८० मंसिर २८ गते कोइरीलाई सफाइ दिएको थियो। उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश सांसद अभिराम शर्मा पक्षसहितले उच्च अदालतमा पुनरावेदन दिएका थिए। पुनरावेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको फैसला संशोधन गर्दै कोइरीलाई दोषी ठहर गरेको हो।

प्रहरी प्रतिवेदनअनुसार २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरस्थित सशस्त्र प्रहरी बल सुरक्षा बेसमा कार्यरत असई थमन विकलाई आन्दोलनका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए।

पछि प्रहरीले उद्धार गरी उनलाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल जलेश्वर पुर्‍याएको थियो। त्यहाँबाट थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुरतर्फ लैजाँदै गर्दा महोत्तरी–८ सनोखडा क्षेत्रमा आन्दोलनकारीले एम्बुलेन्स रोकी विकको हत्या गरेको प्रहरी अनुसन्धानमा उल्लेख छ।

बहुचर्चित यस घटनामा उच्च अदालतको पछिल्लो फैसलासँगै जिल्ला अदालतको सफाइ फैसला उल्टिएको छ भने दोषी ठहर भएका लक्ष्मी महतो (कोइरी)लाई पाँच वर्ष कैद सजाय हुने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै