हङकङस्थित नेपाली समुदायको नेपाल वायुसेवा निगमलाई अपिल : ‘हङकङ–काठमाडौँ उडान नरोक्नुहोस्’ – Sagarmathapana:: Online News Portal

हङकङस्थित नेपाली समुदायको नेपाल वायुसेवा निगमलाई अपिल : ‘हङकङ–काठमाडौँ उडान नरोक्नुहोस्’

   २०८३ असार १७ गते  

काठमाडौं।हङकङमा बसोबास गर्ने नेपाली समुदायले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई हङकङ–काठमाडौँ–हङकङ नियमित उडान सेवा बन्द नगर्न आग्रह गरेको छ। निगमले उक्त उडान मार्ग बन्द गर्न सक्ने चर्चा सार्वजनिक भएपछि समुदायले गम्भीर चिन्ता व्यक्त गर्दै सेवा निरन्तर सञ्चालन गर्न अपिल गरेको हो।

समुदायले जारी गरेको अपिलमा हङकङ–काठमाडौँ उडान नेपाल वायुसेवा निगमको सबैभन्दा पुरानो, व्यस्त र विश्वसनीय अन्तर्राष्ट्रिय मार्गमध्ये एक रहेको उल्लेख गर्दै यसले विगत ४३ वर्षदेखि नेपाल र हङकङबीचको सम्बन्धलाई मजबुत बनाउँदै आएको जनाएको छ।

 


हङकङमा रहेका नेपाली कामदार, व्यवसायी, विद्यार्थी तथा स्थायी बासिन्दा प्रत्यक्ष रूपमा यस उडानमा निर्भर रहेको जनाउँदै सेवा बन्द भए पारिवारिक भेटघाट, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ। साथै, नेपाली भाषा, संस्कृति र पहिचानलाई जोड्ने महत्वपूर्ण माध्यमसमेत कमजोर हुने समुदायको भनाइ छ।

समुदायले निगमले इन्धन आपूर्ति सम्झौता, जहाज व्यवस्थापन तथा आर्थिक चुनौती सामना गरिरहेको अवस्था बुझेको उल्लेख गर्दै समस्या समाधानका लागि विकल्प खोज्न आग्रह गरेको छ। एकपटक मार्ग बन्द भएपछि पुनः सञ्चालन गर्न कठिन हुने भएकाले उडान निरन्तरता दिनुपर्ने उनीहरूको जोड छ।

हङकङस्थित नेपाली समुदायले यात्रु संख्या बढाउन, कार्गो तथा व्यापार प्रवर्द्धनमा सहयोग गर्न, सामाजिक सञ्जालमार्फत निगमको प्रवर्द्धन गर्न तथा आवश्यक कूटनीतिक पहलमा साथ दिन आफूहरू तयार रहेको जनाएको छ।

समुदायले नेपाल सरकार, नेपाल वायुसेवा निगमका पदाधिकारी तथा सम्बन्धित निकायसँग हङकङ–काठमाडौँ उडान सेवा नरोक्न र वैकल्पिक उपायमार्फत सेवा अझ प्रभावकारी तथा विश्वसनीय बनाउन आग्रह गरेको छ। साथै, यो मार्गलाई राष्ट्रिय गौरव र नेपाल–हङकङ सम्बन्धको महत्वपूर्ण सेतुका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएको छ।

photo: DK Dahal,Hongkong.

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै