विश्वकपबाट बाहिरिएपछि दक्षिण कोरियाका मुख्य प्रशिक्षक हङ म्युङ–बोको राजीनामा
हङकङ।फिफा विश्वकप २०२६ को समूह चरणबाटै दक्षिण कोरिया बाहिरिएपछि पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हङ म्युङ–बोले पदबाट राजीनामा दिएका छन्।
राजीनामाको घोषणा गर्दै आयोजित पत्रकार सम्मेलनमा हङले समर्थकसँग क्षमायाचना गर्दै टोलीको निराशाजनक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी आफूले लिएको बताए। नकआउट चरणमा पुग्ने लक्ष्य पूरा गर्न नसकेको भन्दै उनले टोलीको असफलताप्रति दुःख व्यक्त गरे।

दक्षिण अफ्रिकासँग १–० गोलअन्तरले पराजित भएपछि दक्षिण कोरिया समूह चरणबाटै बाहिरिएको थियो। उक्त हारसँगै प्रशिक्षक हङ र टोलीको प्रदर्शनमाथि देशभर व्यापक आलोचना भएको छ।
यसबीच, दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले राष्ट्रिय टोलीको समग्र व्यवस्थापन, खेलाडी छनोट प्रक्रिया तथा तयारीबारे छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
उता, विश्वकपपछि स्वदेश फर्कने क्रममा प्रशिक्षक हङलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएपछि दक्षिण कोरियाली प्रहरीले इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न स्थानमा सुरक्षा निगरानी कडा बनाएको जनाएको छ।













