विष्णु पौडेलको रिहाइ माग गर्दै पत्नी दोमायाद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण (हबियस कर्पस) रिट दायर गरेकी छन्। रिटमार्फत उनले पौडेललाई तत्काल थुनामुक्त गर्न आदेश जारी गर्न माग गरेकी हुन्।
रिट निवेदनमा विष्णु पौडेललाई पर्याप्त कानुनी आधार र प्रमाणबिना पक्राउ गरी थुनामा राखिएको तथा उक्त कदम राजनीतिक पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको जिकिर गरिएको छ।
यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
उक्त घटनापछि बसेको नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकले पौडेलको गिरफ्तारीलाई “घोर प्रतिशोधपूर्ण, पूर्वाग्रहप्रेरित र गैरकानुनी” भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको जनाएको छ।
सर्वोच्च अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइ गरी सम्बन्धित निकायसँग लिखित जवाफ माग्ने वा अन्य आवश्यक आदेश जारी गर्ने अपेक्षा गरिएको छ।












