त्रिभुवन विश्वविद्यालय र एयरबसबीच समझदारीपत्र, नेपाली विद्यार्थीलाई एरोस्पेस क्षेत्रमा नयाँ अवसर
काठमाडौं।त्रिभुवन विश्वविद्यालय (त्रिवि) र विश्वप्रसिद्ध एरोस्पेस कम्पनी एयरबसबीच एरोस्पेस क्षमता अभिवृद्धिका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। यस सहकार्यले नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रिय एरोस्पेस उद्योगसँग प्रत्यक्ष रूपमा जोड्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समझदारीपत्रमार्फत नेपाली विद्यार्थीहरूले प्राविधिक ज्ञान, उद्योगसँगको प्रत्यक्ष सम्पर्क तथा एरोनोटिक्स क्षेत्रमा व्यावहारिक अनुभव हासिल गर्ने अवसर पाउनेछन्। यसले नेपालका युवाहरूलाई भविष्यको एरोस्पेस तथा उड्डयन क्षेत्रमा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


नेपालका लागि फ्रान्सका राजदूतले यस सहकार्यलाई नेपाल र फ्रान्सबीचको दीर्घकालीन शैक्षिक तथा प्राविधिक साझेदारीको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले नेपालमा रहेको युवा प्रतिभालाई विश्वस्तरीय अवसरसँग जोड्न यो समझदारीपत्र प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गरे।

एयरबस र त्रिभुवन विश्वविद्यालयबीचको यो सहकार्यले अनुसन्धान, प्राविधिक क्षमता विकास तथा उड्डयन शिक्षामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। साथै, यसले नेपालमा एरोस्पेस क्षेत्रको विकास र दक्ष जनशक्ति उत्पादनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
फ्रान्स सरकार, एयरबस तथा त्रिभुवन विश्वविद्यालयबीचको यो पहललाई नेपाल–फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने तथा उड्डयन र एरोस्पेस क्षेत्रमा दीर्घकालीन सहकार्य विस्तार गर्ने महत्वपूर्ण कोसेढुंगाका रूपमा हेरिएको छ।













