विदेशमा समस्यामा परेका नेपालीलाई अब ‘MoFA Mitra’ एपबाटै सहजीकरण – Sagarmathapana:: Online News Portal

विदेशमा समस्यामा परेका नेपालीलाई अब ‘MoFA Mitra’ एपबाटै सहजीकरण

   २०८३ जेष्ठ १३ गते  

काठमाडौं।विदेशमा रहेका नेपाली नागरिक तथा उनीहरूका परिवारलाई लक्षित गर्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले ‘MoFA Mitra’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ। उक्त एपमार्फत विदेशमा समस्यामा परेका नेपालीको खोजतलास, उद्धार, शव नेपाल ल्याउने सहजीकरण तथा बीमा क्षतिपूर्ति सम्बन्धी सेवा सहज रूपमा लिन सकिने बताइएको छ।

कन्सुलर सेवा विभागका अनुसार एपमार्फत सेवाग्राहीले अनलाइन निवेदन दर्ता गर्न, आफ्नो निवेदनको प्रगति ट्र्याक गर्न, सम्बन्धित नेपाली नियोगसँग सम्पर्क गर्न तथा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। विदेशमा रहेका नेपाली र तिनका आफन्तलाई लक्षित गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन एप सञ्चालनमा ल्याइएको हो।  

‘MoFA Mitra’ एप एन्ड्रोइड तथा iOS दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ। एपमा खोज तथा उद्धार, शव फिर्ता ल्याउने प्रक्रिया, गुनासो व्यवस्थापन, क्षतिपूर्ति दाबी लगायतका सेवा समेटिएका छन्।  

परराष्ट्रमन्त्री Shishir Khanal ले एप सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीलाई आवश्यक कन्सुलर सेवा छिटो, सरल र पहुँचयोग्य बनाउन डिजिटल प्रणाली प्रभावकारी हुने बताएका छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै