एमाले कार्यक्रमको पोस्टरबाट केपी शर्मा ओलीको तस्बिर हटाइयो, नेतृत्व बहससँग जोडेर हेरिँदै
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफ्नो पार्टी कार्यक्रमको पोस्टरबाट अध्यक्ष केपी शर्मा ओलीको तस्बिर हटाउन थालेको छ। एमालेले बुधबार ७७ औं स्थापना दिवस मनाउँदै गर्दा सार्वजनिक गरिएको पोस्टरमा ओलीको तस्बिर समावेश गरिएको छैन।
स्थापना दिवसका लागि तयार पारिएको पोस्टरमा भने नेकपाका संस्थापक नेताहरू पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठका श्यामश्वेत तस्बिर राखिएका छन्।

यसपटक एमालेले विगतमा नियमित रूपमा प्रयोग गर्दै आएको मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिरसमेत समावेश गरेको छैन।
पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र भइरहेका बेला ओलीको तस्बिर हटाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सचिवालय तहका केही नेताहरूले नै अध्यक्षको विकल्प खोज्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्।

२०७१ साउनदेखि सत्तामा आएपछि एमालेका अधिकांश कार्यक्रमहरूमा ओलीको तस्बिर अनिवार्यजस्तै प्रयोग हुँदै आएको थियो। पार्टीका सभा, सम्मेलनदेखि स्थानीय तहका कार्यक्रममा समेत ओलीको फोटोसहितका ब्यानरहरू प्रयोग हुने गरेका थिए।
तर गत भदौ २३ गतेको जेनजी आन्दोलनपछि राजनीतिक परिस्थितिमा आएको परिवर्तनसँगै एमालेले ओलीको तस्बिर प्रयोग घटाउँदै लगेको देखिन्छ। पछिल्लो निर्वाचनमा समेत उम्मेदवारहरूले आफ्ना क्षेत्रमा ओलीको तस्बिर कम प्रयोग गरेका थिए।
पहिले एमालेले कार्यक्रमहरूमा पहिलो तस्बिर पुष्पलाल श्रेष्ठ, दोस्रो मदन भण्डारी र तेस्रो मनमोहन अधिकारीको राख्ने परम्परा थियो। त्यसपछि अवस्था अनुसार अध्यक्षको तस्बिर समावेश गरिन्थ्यो।

एमालेले २०८० सालमा जारी गरेको परिपत्रमा भने सार्वजनिक कार्यक्रममा अध्यक्षबाहेक अन्य तस्बिर प्रयोग नगर्न निर्देशन दिएको थियो। उक्त आचारसंहितामा कार्यक्रमलाई सादगीपूर्ण, मर्यादित र व्यवस्थित बनाउने विषयहरू पनि समेटिएका थिए।
उक्त परिपत्र तयार पार्ने क्रममा तत्कालीन उपमहासचिव विष्णु रिमालले यस्तो आचारसंहिता आवश्यक भएको बताएका थिए।
यसपटक स्थापना दिवसकै पोस्टरमा अध्यक्ष ओलीको तस्बिर नराखिनु एमालेभित्रको बदलिँदो शक्ति सन्तुलन र नेतृत्व बहसको संकेतका रूपमा व्याख्या हुन थालेको छ। पार्टीभित्रको आगामी रणनीति र नेतृत्वबारे अबको निर्णयले थप स्पष्टता दिने अपेक्षा गरिएको छ।












