काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप बढ्यो, सिभिल अस्पतालमा ओपीडी टिकटका लागि लामो लाइन – Sagarmathapana:: Online News Portal

काठमाडौंका सरकारी अस्पतालमा बिरामीको चाप बढ्यो, सिभिल अस्पतालमा ओपीडी टिकटका लागि लामो लाइन

   २०८३ बैशाख ८ गते  

काठमाडौं-सातामा लगातार दुई दिन बिदा लागू भएपछि काठमाडौंका सरकारी अस्पतालहरूमा बिरामीको चाप अत्यधिक बढेको छ। विशेषगरी Civil Service Hospital (सिभिल अस्पताल) मा ओपीडी टिकट लिन आउने बिरामीहरूको लामो लाइन देखिएको छ।

आज बिहानैदेखि टिकट काउन्टर अगाडि बिरामी तथा तिनका आफन्तहरूको लाइन फनफनी घुम्दै क्यान्टिन क्षेत्रभन्दा परसम्म पुगेको देखिएको छ। लामो समयसम्म लाइनमा बस्नुपर्दा बिरामीहरू हैरान भएका छन्।

ओपीडी टिकट लिन लाइनमा बसेका एक बिरामीले दुई–तीन दिनदेखि अनलाइनमार्फत टिकट काट्ने प्रयास गरे पनि सफल हुन नसकेको गुनासो गरे। अस्पतालका एक कर्मचारीले भने प्राविधिक समस्या छिट्टै समाधान हुने आश्वासन दिएका छन्।

बिरामीहरूका अनुसार अनलाइनबाट टिकट काटेपछि पनि अस्पतालमा आएर पुनः लाइनमा बस्नुपर्ने बाध्यता कायमै रहेको छ, जसले ‘अनलाइन प्रणाली’ को प्रभावकारितामाथि प्रश्न उठाएको छ।

हाल सिभिल अस्पतालको बहिरङ्ग (ओपीडी) विभागका प्रायः सबै ढोकाहरू अगाडि बिरामीहरूको भीड भद्रगोल देखिएको छ। चिकित्सक तथा कर्मचारीहरूका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएपछि त्यसको भोलिपल्ट र पर्सिपल्ट सेवाग्राहीको चाप अस्वाभाविक रूपमा बढ्ने गरेको छ।

यस्तै अवस्था Bir Hospital (वीर अस्पताल) लगायतका अन्य सरकारी अस्पतालहरूमा पनि देखिएको छ। अत्यावश्यक स्वास्थ्य सेवा लिनसमेत सेवाग्राहीहरूले सास्ती खेप्नुपरेको छ।

नयाँ सरकार बनेपछि ‘लाइन होइन, अनलाइन’ भन्ने नारालाई सिभिल अस्पतालको लामो लाइनले चुनौती दिएको छ। स्वास्थ्य सेवा व्यवस्थापन सुधार गर्न प्रभावकारी योजना आवश्यक रहेको सर्वसाधारणको माग छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै