गृहमन्त्रीमाथि आरोप: भीम रावलको कटाक्ष—“अन्य दलका मन्त्री भए हटाउन माग गर्थ्यो रास्वपा”
काठमाडौं-भीम रावलले गृहमन्त्री सुधन गुरुङमाथि लागेका आरोपबारे कटाक्ष गर्दै अन्य दलका मन्त्री भए राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल पदबाट हटाउन माग गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रावलले सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गर्ने सत्तारुढ दल र प्रधानमन्त्री बालेन्द्र शाहले यस विषयमा कस्तो कदम चाल्छन् भन्नेबारे नागरिकले ध्यानपूर्वक हेरिरहेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, “राज्यको आचरण, अनुशासन र सुरक्षासँग सम्बन्धित अत्यन्त संवेदनशील गृह मन्त्रालयको जिम्मेवारीमा रहेका गृहमन्त्रीबारे सार्वजनिक भएका गम्भीर विषयमा पारदर्शिता र सुशासनको परीक्षा भएको छ। अन्य दलका मन्त्री भए तत्काल पदबाट हटाई स्वतन्त्र न्यायिक छानबिनको माग गरिन्थ्यो, हैन त?”
गृहमन्त्री गुरुङ हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको आरोपका कारण विवादमा परेका छन्। साथै, जेनजी आन्दोलनपछि खरिद गरिएको सेयर सम्पत्ति विवरणमा नखुलाएको आरोप पनि उनीमाथि लागेको छ।
उक्त विषयमा सरकार र सम्बन्धित निकायले आधिकारिक प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन।












