प्रधानमन्त्री बालेन्द्र साह द्वारा उपकुलपतिसँग छलफल, विश्वविद्यालय सुधारका उपाय खोजिँदै – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री बालेन्द्र साह द्वारा उपकुलपतिसँग छलफल, विश्वविद्यालय सुधारका उपाय खोजिँदै

   २०८३ बैशाख ७ गते  

काठमाडौं:प्रधानमन्त्री बालेन्द्र साह ले देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग समसामयिक समस्या तथा समाधानका उपायबारे महत्वपूर्ण छलफल गर्नुभएको छ।

सोमबार सिंहदरबार मा आयोजित बैठकमा प्रधानमन्त्रीले आफू कुलपति रहने ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूलाई आमन्त्रण गर्नुभएको थियो। छलफलमा शिक्षा क्षेत्रमा देखिएका चुनौती, प्रशासनिक जटिलता, स्रोत व्यवस्थापन तथा सुधारका सम्भावनाबारे गहन विमर्श भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू सहभागी भएका थिए। साथै पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय लगायतका विश्वविद्यालयका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

यसैगरी नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का उपकुलपतिहरूले पनि आफ्ना धारणा राखेका थिए।

प्रधानमन्त्रीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि छलफल गर्नुभएको थियो।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपतिहरूसँग समेत प्रधानमन्त्रीले संवाद गर्नुभएको जनाइएको छ।

छलफलका क्रममा केही समस्याहरू तत्काल समाधान गर्न सकिने निष्कर्ष निकालिएको र दीर्घकालीन सुधारका लागि नीतिगत पहल अघि बढाउने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै