मन्त्रीलाई महँगो आइफोन वितरण गरिएको दाबी भ्रामक,सरकारको स्पष्टिकरण
काठमाडौं।मन्त्रीहरूलाई महँगो आइफोन वितरण गरिएको भन्ने समाचार भ्रामक रहेको भन्दै सरकारका तर्फबाट स्पष्टिकरण आएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएको उक्त दाबीको खण्डन गर्दै यस्ता सूचना साझा गर्नु अघि स्रोत र विश्वसनीयता जाँच गर्न सबैलाई आग्रह गरेका छन्।
मन्त्री तिमिल्सिनाले सरकारले नागरिकको करबाट उठेको पैसाको दुरुपयोग नगर्ने स्पष्ट पार्दै प्रत्येक खर्च जिम्मेवारीका साथ गरिने बताएका छन्। “सरकारको ध्यान नागरिकको भविष्य सुधारमा केन्द्रित छ, अनावश्यक खर्च गर्ने कुनै मनसाय छैन,” उनले भने।


यसैबीच, प्रधानमन्त्री सचिवालयले पनि मन्त्रीहरूलाई गोप्य संवादका लागि छुट्टै मोबाइल सेट वा सिमकार्ड वितरण गरिएको भन्ने समाचार पूर्ण रूपमा निराधार रहेको जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार मन्त्रीहरूलाई कुनै पनि अतिरिक्त महँगो उपकरण उपलब्ध नगराइएको र सार्वजनिक भएका दाबीहरू कपोलकल्पित हुन्।
फ्याक्ट चेक प्लेटफर्म टेकपानाले समेत उक्त समाचार गलत रहेको पुष्टि गरेको छ। केही सञ्चारमाध्यममा प्रधानमन्त्रीको निर्देशनमा मन्त्रीहरूलाई महँगो मोबाइल र गोप्य सिमकार्ड वितरण गरिएको दाबी गरिए पनि सम्बन्धित निकायहरूले त्यसलाई अस्वीकार गरेका छन्।

राष्ट्रिय समाचार समिति (रासस) सँगको कुराकानीमा केही मन्त्रीहरूले पनि आफूहरूले कुनै नयाँ फोन नपाएको र व्यक्तिगत मोबाइल नै प्रयोग गरिरहेको बताएका छन्। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले आवश्यक समन्वय सिंहदरबारमै प्रत्यक्ष भेटघाटबाट हुने भएकाले छुट्टै सञ्चार उपकरणको आवश्यकता नरहेको बताए।
सरकारले भ्रामक सूचना फैलिन नदिन सबैलाई सचेत रहन आग्रह गर्दै जिम्मेवार पत्रकारिता र तथ्यमा आधारित सूचना प्रवाहको आवश्यकता औंल्याएको छ।












