घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ
काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस रकमसहित नेपाल विद्युत प्राधिकरणका एक इन्जिनियरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीस्थित कञ्चनपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर महेन्द्र कुमार दास रहेका छन्।
अख्तियारका अनुसार चार्जिङ स्टेसनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन उपलब्ध गराइदिने बहानामा सेवाग्राहीसँग घुस मागिएको उजुरी प्राप्त भएपछि विशेष निगरानी गरिएको थियो।


सोही क्रममा दासलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो।
उनलाई सोमबार हनुमाननगर कंकालिनी नगरपालिका–२ बाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।














