राष्ट्रिय सभा अन्तर्गतका चार महत्वपूर्ण समितिको बैठक आज बस्दै
काठमाडौं।राष्ट्रिय सभा अन्तर्गतका चार महत्वपूर्ण समितिको बैठक आज बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, तथा विधायन व्यवस्थापन तथा सार्वजनिक नीति समितिको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ ।
बैठकको मुख्य कार्यसूची समितिहरूको सभापति चयन गर्नु रहेको छ । सभापति चयनका लागि प्रमुख राजनीतिक दलहरूबीच सहमति जुटेको बताइएको छ ।


सहमति अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल बीच भागबन्डाका आधारमा सभापति टुंग्याउने सहमति भएको स्रोतले जनाएको छ ।
यसअघि एमालेबाट राष्ट्रिय सभाको उपाध्यक्ष चयन भइसकेपछि बाँकी समितिहरूको नेतृत्व बाँडफाँटमा चार दलबीच समझदारी कायम भएको हो । आजको बैठकले उक्त सहमतिलाई औपचारिकता दिने अपेक्षा गरिएको छ ।
राजनीतिक सहमतिका आधारमा समितिको नेतृत्व चयन हुने भएकाले संसद्भित्र शक्ति सन्तुलन कायम राख्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।













