प्रतिनिधिसभा बैठक आज बस्दै, तीन विधेयक प्रस्तुत हुने तयारी – Sagarmathapana:: Online News Portal

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन विधेयक प्रस्तुत हुने तयारी

   २०८२ चैत्र २४ गते  

काठमाडौं।सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा तीनवटा महत्वपूर्ण विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची तय गरिएको छ।

आज प्रस्तुत गरिने विधेयकहरूमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक, २०८१’, ‘पर्यटन सम्बन्धी विधेयक, २०८१’ र ‘चलचित्र सम्बन्धी विधेयक, २०८१’ रहेका छन्। यी विधेयकहरू सरकारले सम्बन्धित क्षेत्रको व्यवस्थापन, नियमन र आधुनिकीकरणलाई लक्षित गर्दै अघि बढाएको बताइएको छ।

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला’ सम्बन्धी विधेयकले अपराध अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ भने ‘पर्यटन’ सम्बन्धी विधेयकले पर्यटन क्षेत्रको दिगो विकास र प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छ। त्यसैगरी ‘चलचित्र’ सम्बन्धी विधेयकले नेपाली फिल्म उद्योगलाई व्यवस्थित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ।

आजको बैठकमा सांसदहरूले विधेयकमाथि प्रारम्भिक छलफल गर्ने सम्भावना रहेको छ। साथै, आवश्यक प्रक्रिया पूरा भएपछि ती विधेयकहरू सम्बन्धित समितिमा पठाइनेछन्।

सरकारले पछिल्लो समय कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरू संसद्मार्फत अघि बढाइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै