पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर बदली, वर्षा र हिमपातको सम्भावना – Sagarmathapana:: Online News Portal

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय: देशभर बदली, वर्षा र हिमपातको सम्भावना

   २०८२ चैत्र २२ गते  

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय हुँदा देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।

महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा अन्य तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने हिमाली भूभागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।

महाशाखाले विशेषगरी पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबतासको जोखिम रहने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै