अवैध क्रिप्टो कारोबारको जालो : १७ करोड रकमसहित चिनियाँ पक्राउ
काठमाडौं । प्रहरीले करिब १७ करोड ७९ लाख रुपैयाँ बराबरको अवैध क्रिप्टो करेन्सी कारोबारमा संलग्न एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमार्फत नेपाली नागरिकलाई प्रलोभनमा पार्दै ठगी गरी प्राप्त रकमलाई क्रिप्टो करेन्सीमा रूपान्तरण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको आरोपमा उक्त चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो।


प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२६ क्षेत्रबाट समातिएका हुन्। उनीसँगबाट नगद रकम, मोबाइल फोन तथा अन्तर्राष्ट्रिय माध्यमबाट रकम स्थानान्तरणसम्बन्धी कागजातहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनले विभिन्न व्यक्तिसँग अनलाइनमार्फत सम्पर्क गरी लगानी तथा आम्दानीको प्रलोभन देखाउँदै रकम असुल्ने र त्यसलाई USDT (क्रिप्टो करेन्सी) मार्फत कारोबार गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार उक्त रकम नेपाली रुपैयाँमा करिब १७ करोड ७९ लाख बराबर हुने देखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र नेटवर्कबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नेपालमा पछिल्लो समय अवैध क्रिप्टो कारोबार र अनलाइन ठगीका घटनाहरू बढ्दै गएका छन्। यसअघि पनि प्रहरीले ठूलो संख्यामा व्यक्तिहरूलाई यस्ता गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।













