प्रदेश खारेज गर्न सरकारलाई राप्रपाको समर्थन: “दुई तिहाइ पुर्‍याइदिन्छौँ”- ज्ञानेन्द्र शाही – Sagarmathapana:: Online News Portal

प्रदेश खारेज गर्न सरकारलाई राप्रपाको समर्थन: “दुई तिहाइ पुर्‍याइदिन्छौँ”- ज्ञानेन्द्र शाही

   २०८२ चैत्र १९ गते  

काठमाडौं।ज्ञानेन्द्र शाही ले प्रदेश संरचना खारेज गर्न सरकारलाई स्पष्ट सन्देश दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक शाहीले अनावश्यक प्रदेश संरचनाका कारण देशको ढुकुटी रित्तिँदै गएको भन्दै तत्काल खारेजीको माग गरेका हुन्।

बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रदेश सञ्चालनका लागि मात्रै वार्षिक करिब एक खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गरे। उनले यस्तो ठूलो रकम जनताको प्रत्यक्ष हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

शाहीले प्रदेश संरचना खारेज गर्न संविधान संशोधन आवश्यक पर्ने भन्दै सरकारलाई दुई तिहाइ बहुमत जुटाउन समस्या परे राप्रपाले पूर्ण साथ दिने प्रतिबद्धता जनाए। “देश र जनताको हितका लागि आवश्यक परे हामी दुई तिहाइ पुर्‍याइदिन्छौँ,” उनले भने।

यसै क्रममा उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न पनि सरकारसँग आग्रह गरे। पुराना भ्रष्टाचारका फाइलहरू खोल्नुपर्ने र दोषीहरूको तीन पुस्तासम्मको सम्पत्ति जफत गर्नुपर्ने उनको भनाइ थियो।

शाहीले सरकारलाई विगतका कमजोरी नदोहोर्‍याई जनताको भरोसा जित्ने दिशामा काम गर्न आग्रह गर्दै सुशासन र पारदर्शितामा जोड दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै