नेपाल स्पोर्ट्स समिट २०२६ फेब्रुअरी ५ मा काठमाडौंमा हुँदै नेपाललाई विश्वस्तरीय खेल केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य – Sagarmathapana:: Online News Portal

नेपाल स्पोर्ट्स समिट २०२६ फेब्रुअरी ५ मा काठमाडौंमा हुँदै नेपाललाई विश्वस्तरीय खेल केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य

   २०८२ माघ १३ गते  

काठमाडौं।नेपाललाई विश्वस्तरीय खेल तथा खेल पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल स्पोर्ट्स समिट २०२६ (NSS 2026) आयोजना हुने भएको छ।नेपाल स्पोर्ट्स समिट कमिटीले समिटको औपचारिक घोषणा गर्दै कार्यक्रम फेब्रुअरी ५, २०२६ मा काठमाडौंको सोल्टी होटलमा आयोजना हुने जानकारी दिएको हो।

यो समिट नेपालकै पहिलो संगठित र उच्चस्तरीय राष्ट्रिय खेल सम्मेलनका रूपमा लिइएको छ,जसले खेल,कूटनीति,पर्यटन र आर्थिक विकासलाई एउटै साझा मञ्चमा जोड्ने लक्ष्य राखेको छ।समिटमा कूटनीतिज्ञ तथा अन्तर्राष्ट्रिय मिसनहरू,कर्पोरेट नेतृत्व,विश्वव्यापी लगानीकर्ता,सरकारी अधिकारी,नीति निर्माता,खेल प्रशासक,सञ्चारकर्मी तथा खेल उद्योगका सरोकारवाला पक्षहरूको सहभागिता रहने जनाइएको छ।

समिटका अर्का आयोजक भास्कर राजकर्णिकारका अनुसार यस कार्यक्रमले नीति निर्माता,लगानीकर्ता, खेल नेतृत्व र अन्तर्राष्ट्रिय संस्थाबीच समन्वयात्मक संवादको वातावरण सिर्जना गर्नेछ।उनले नेपालसँग रहेको प्राकृतिक लाभ, युवा ऊर्जा र अन्तर्राष्ट्रिय सद्भावनालाई NSS 2026 ले व्यवहारिक साझेदारी र दीर्घकालीन आर्थिक वृद्धिमा रूपान्तरण गर्ने विश्वास व्यक्त गरे।

समिट अन्तर्गत नेपालका खेल क्षेत्रसँग सम्बन्धित नीति, पूर्वाधार, सञ्चार,डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यजस्ता विषयमा केन्द्रित पाँच उच्चस्तरीय प्यानल छलफल सञ्चालन गरिनेछ।ती सत्रहरूमा खेल कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, खेल पूर्वाधार विकास, उदयमान खेलहरूको प्रवर्द्धन, खेल सञ्चार तथा प्रसारणको भूमिका र डिजिटल खेल सामग्री तथा इन्फ्लुएन्सरको प्रभावजस्ता विषय समेटिनेछन्।


आयोजकका अनुसार समिटको मुख्य उद्देश्य नेपालमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्नु,खेल अर्थतन्त्रलाई सुदृढ बनाउनु र खेल पर्यटन विकासका लागि दीर्घकालीन रणनीतिक साझेदारी निर्माण गर्नु हो।

प्रत्येक सत्रका प्यानलिस्टहरूको नाम तथा कार्यक्रमका थप विवरणहरू क्रमशः नेपाल स्पोर्ट्स समिटका आधिकारिक डिजिटल तथा सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत सार्वजनिक गरिने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै