पर्यटकलाई झुटो उद्दार देखाएर करोडौं असुलेको आरोपमा ६ जना रेस्क्यु कम्पनीका सञ्चालक तथा व्यवस्थापक पक्राउ
पर्यटकलाई उद्दार गरेको झुटो विवरण देखाई करोडौं असुलेको आरोपमा ६ जना पक्राउ
काठमाडौं।पर्वतारोहण तथा ट्रेकिङका क्रममा विदेशी पर्यटकलाई उद्दार गरेको झुटो विवरण देखाई बीमा रकम दाबी गरी करोडौं रुपैयाँ बराबरको गैरकानूनी आर्थिक लाभ लिएको आरोपमा रेस्क्यु कम्पनीका सञ्चालक तथा व्यवस्थापकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेक रेस्क्यु प्रकरणमा संलग्न विभिन्न ट्राभल तथा रेस्क्यु कम्पनीका सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रविन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन्।
सीआईबी प्रमुख तथा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार नक्कली उद्दार देखाएर बीमा दाबी गर्ने र विदेशी पर्यटक ठगीमा संलग्न गिरोहविरुद्ध अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
पक्राउ परेकामध्ये जयराम रिमाल र विवेक पाण्डे माउन्टेन रेस्क्यु सर्भिस प्रालि, रविन्द्र अधिकारी र विवेकराज थपलिया नेपाल चार्टर सर्भिस प्रालि, तथा मुक्ति पाण्डे र सुभाष केसी एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालि का सञ्चालक तथा व्यवस्थापक रहेको खुलाइएको छ।
सीआईबीका अनुसार माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनामध्ये १७१ जनाको फेक रेस्क्यु देखाई १ करोड अमेरिकी डलरभन्दा बढी बीमा दाबी गरेको पाइएको छ। त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्दार देखाउँदा ७५ जनाको फेक रेस्क्यु गरी ८२ लाख अमेरिकी डलर बराबरको दाबी गरेको खुलासा भएको छ।
यसैगरी, एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ जनामध्ये ७१ जनाको शंकास्पद उद्दार देखाई ११ लाख ५३ हजार अमेरिकी डलर बराबरको बीमा दाबी गरेको पाइएको सीआईबीले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार अनुसन्धानका क्रममा ती कम्पनीहरूले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलका अभिलेखहरूमा हेरफेर गरेको, झुटा बिल बनाएको, तथा उद्दार गरिएको भनिएका विदेशी पर्यटकलाई काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराएको देखाई नक्कली मेडिकल रिपोर्ट र कागजात तयार गरिएको पाइएको छ।
प्रहरीले घटनामा अन्य व्यक्ति तथा संस्थाको समेत संलग्नता हुनसक्ने आशंकामा अनुसन्धानलाई थप तीव्र बनाएको जनाएको छ।
स्रोत : द एभरेस्ट न्यूज












