संघीयतामा जिल्ला समन्वय समितिको भूमिका विषयक अन्तरक्रिया सम्पन्न
पोखरा।जिल्ला समन्वय समिति महासंघको ३१औँ स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिले स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरेको छ।महासंघले “संघीयतामा जिल्ला समन्वय समितिको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममार्फत स्थापना दिवस मनाएको हो।
कार्यक्रमको संयुक्त रूपमा जिल्ला समन्वय समिति महासंघका केन्द्रीय सदस्यहरू तथा गण्डकी प्रदेशका जिल्ला समन्वय प्रमुखहरूले उद्घाटन गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्माले “संघीयतामा जिल्ला समन्वय समितिको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।


महान्यायाधिवक्ता शर्माले विकास निर्माणको सहजीकरणमा जिल्ला समन्वय समितिहरूले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै तिनलाई अझ प्रभावकारी बनाउन संघ र प्रदेश सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो। आवश्यक कानुनी व्यवस्थापन र मजबुत नीति निर्माण गर्न सके विकास प्रक्रिया अझ गुणस्तरीय हुने उहाँको भनाइ थियो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संघीयताको मर्मअनुसार जिल्ला समन्वय समितिहरूको सुदृढीकरणका लागि संघ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गरिए पनि त्यसतर्फ सरकार गम्भीर नदेखिएको गुनासो गर्नुभयो।
अध्यक्ष पौडेलले सीमित स्रोतसाधन र विद्यमान कानुनी व्यवस्थाकै आधारमा जिल्ला समन्वय समितिहरूले आफ्नो आवश्यकता र औचित्य पुष्टि हुने गरी कार्य सम्पादन गरिरहेको उल्लेख गर्दै समयानुकूल कानुनी संरचना निर्माण गर्न आग्रह गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका जिल्ला समन्वय प्रमुख, उपप्रमुख, सदस्यहरू, सरोकारवाला सरकारी तथा गैरसरकारी संस्था, नागरिक अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष सोम जिसीले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सरस्वती बगालेले गर्नुभएको थियो।












