पर्यटनलाई नेपालको प्रभावकारी सफ्ट पावरका रूपमा स्थापित गर्ने पहल पर्यटन कूटनीतिमार्फत ब्रान्डिङमा जोड – Sagarmathapana:: Online News Portal

पर्यटनलाई नेपालको प्रभावकारी सफ्ट पावरका रूपमा स्थापित गर्ने पहल पर्यटन कूटनीतिमार्फत ब्रान्डिङमा जोड

   २०८२ माघ ३ गते  

काठमाडौं।नेपाललाई विश्व बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्ड (एनटीबी) र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल प्रवर्द्धनका लागि साझेदारी’ विषयक कार्यशाला सम्पन्न भएको छ । कार्यशालाले पर्यटन, संस्कृति र सार्वजनिक कूटनीतिलाई नेपालको प्रमुख सफ्ट पावर का रूपमा स्थापित गर्दै एकीकृत राष्ट्रिय ब्रान्डिङमा जोड दिएको छ ।

कार्यशालालाई सम्बोधन गर्दै परराष्ट्र सचिव अमृत बहादुर राईले पर्यटनलाई नेपालको अन्तर्राष्ट्रिय छविको सबैभन्दा जीवन्त र प्रभावकारी माध्यम भएको उल्लेख गरे । उनले विश्व समुदायसमक्ष नेपाललाई चिनाउन आत्मविश्वासी, सुसंगत र प्रामाणिक स्टोरी–टेलिङ आवश्यक रहेको बताए । पर्यटन र सार्वजनिक कूटनीतिले राष्ट्रिय गरिमा, अन्तर्राष्ट्रिय प्रतिष्ठा र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवर्द्धनमा सार्वजनिक कूटनीतिको भूमिका झनै प्रभावकारी बन्दै गएको उल्लेख गरे । उनले सरकारी निकाय, कूटनीतिक नियोग, निजी क्षेत्र तथा नीति अनुसन्धान संस्थाबीच संस्थागत सहकार्य सुदृढ गर्न सके नेपाललाई दीर्घकालीन रूपमा बलियो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सकिने बताए ।

शुक्रबार काठमाडौंमा सम्पन्न अन्तर्क्रियामा परराष्ट्र मन्त्रालयका सहसचिव तथा शिष्टाचार महापाल कुमारराज खरेल, सार्वजनिक कूटनीति महाशाखा प्रमुख लोकबहादुर पौडेल क्षेत्री लगायत कूटनीतिज्ञहरूले विदेशस्थित नेपाली नियोगमार्फत नेपाल पर्यटन बोर्डसँग समन्वय गरी नेपाल प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर र मणिराज लामिछाने, योजना, अनुसन्धान तथा अनुगमन महाशाखा प्रमुख लक्ष्मण गौतम तथा जनसम्पर्क महाशाखा प्रमुख सुनिल शर्माले परराष्ट्र मन्त्रालय र कूटनीतिक नियोगहरूसँग आवश्यक परामर्श गरी संयुक्त कार्यक्रम अघि बढाइने जानकारी दिए । संयुक्त पहलमा नेपालको प्रकृति, संस्कृति र विविधता झल्कने भिडियो सामग्री निर्माण, वार्षिक कार्ययोजना तर्जुमा लगायतका विषयमा समेत छलफल भएको थियो ।

कार्यशालामा परराष्ट्र मन्त्रालयको सार्वजनिक कूटनीति महाशाखाले नेपाल प्रवर्द्धनसम्बन्धी विस्तृत प्रस्तुति दिएको थियो भने पर्यटन बोर्डका वरिष्ठ अधिकृत कविन्द्र भट्टले नेपालको पर्यटन फ्याक्ट–सिट प्रस्तुत गरेका थिए । प्रस्तुतिमा पर्यटन आगमन, विदेशी मुद्रा आर्जन, सम्भावना र भावी रणनीतिहरू समेटिएका थिए ।

छलफलपछि सहभागी निकायहरूले नेपाललाई विश्व बजारमा ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’ का रूपमा उभ्याउन प्राथमिक क्षेत्रहरू पहिचान गरेका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभाग र पर्यटन विभागका महानिर्देशकहरू, नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधि तथा अन्य वरिष्ठ सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यशालाले पर्यटन, संस्कृति र कूटनीतिलाई एउटै राष्ट्रिय ब्रान्डिङ दृष्टिकोणमा आबद्ध गर्दै समन्वित प्रयासमार्फत नेपालको विश्वव्यापी छवि सुदृढ गर्ने निष्कर्ष निकालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै