जापानमा सुनामीको चेतावनी जारी
काठमाडौँ । दक्षिणी जापानमा बिहीबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अमेरिकी जियोलोजिकल सर्वे (युएसजीएस) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्यूड मापन गरिएको छ ।
जापानी सञ्चारमाध्यम ‘एनएचके वर्ल्ड’का अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता,कगोसिमा लगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

“हामी तपाईंको घरको मायालाई बुझ्छौं, तपाईंको सामानहरू सबै तपाईंको लागि बहुमूल्य छन्, तर तपाईंको जीवन सबैभन्दा महत्वपूर्ण छ । सम्भव भएसम्म छिट्टै अग्लो जमिनमा पुग्नुहोस्,” एनएचकेमार्फत प्रसारण गरिएको कार्यक्रममा प्रस्तोताले दर्शकहरूको सुरक्षाका लागि आग्रह गर्नुभयो ।
जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् ।
तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्युडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो ।

सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।
राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो
सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७.४ म्याग्निच्युडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महसुस गरिएको थियो ।












