ओलीको आरोप:‘सरकारमै बसेकाहरूले जेनजीको नाममा मागपत्र बनाएर नाटक गरे’
काठमाडौँ।नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीहरूको नाममा सार्वजनिक भएको मागपत्रको पछाडि सरकारमै रहेका व्यक्तिहरूको हात रहेको दाबी गरेका छन्। उनका अनुसार जेनजीहरूलाई संगठित गर्ने, हातमा मागपत्र थमाइदिने र मिडियामा तमासा खडा गर्ने कार्य ‘सरकारको योजनाबद्ध सेटअप’ हो।
ओलीले सरकारले सुशासनको नाममा प्रहरी प्रशासन र विपक्षी नेताहरूलाई दवाबमा राख्ने प्रयास गरिरहेको आरोपसमेत लगाए।
उनले भने, “सरकारको सुशासन भनेको आफूलाई र रमेश लेखकलाई जेल पुर्याउने राजनीति मात्रै हो।”
प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएर ओलीले हालको सरकारले चुनावको तयारीभन्दा पनि नाटक र प्रचारमा समय खर्चिएको टिप्पणी गरे। सुरक्षा, कानुन र जिम्मेवारीजस्ता विषयबाट सरकार आफूलाई टाढा राखिरहेको उनको आरोप छ।
यसैबीच, पूर्व आईजीपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का गरेको घटनालाई ओलीले ‘सरकारको धम्क्याउने प्रवृत्ति’ का रूपमा व्याख्या गरे। उनका अनुसार सरकारले वास्तविक कामभन्दा राजनीतिक प्रदर्शनलाई प्राथमिकता दिएको छ।
ओलीले आफू ‘सत्यका लागि लडिरहने’ बताउँदै सरकारको हालको कार्यशैली कानूनसम्मत शासनको spirit विरुद्ध रहेको पुनः दोहोर्याए।












