बेलबारीमा नेपाल फिड्स एण्ड एग्रो टेक प्रा.लि. उद्घाटन, कृषि आत्मनिर्भरता लक्ष्य

मोरङ।बेलबारीमा नेपाल फिड्स एण्ड एग्रो टेक प्रा.लि. सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भयको छ। नेपालभरिका कृषकहरूलाई लक्षित गर्दै राष्ट्रिय खाद्य बैंक लिमिटेडले प्रवद्र्धन गरेको यो कम्पनीले खाद्य सुरक्षा र कृषि आत्मनिर्भरता वृद्धि गर्ने उद्देश्य लिएको छ।
कम्पनीका अध्यक्ष शंकर उप्रेतीका अनुसार, बैंकले कृषि उत्पादन, भण्डारण, प्रशोधन, ग्रेडिङ, व्यक्तिगत तथा व्यावसायिक बजार व्यवस्थापनमा निरन्तर लगानी गर्दै आएको छ। यस कदमले कृषिमा व्यावसायिकता र आत्मनिर्भरता थप मजबुत हुने विश्वास लिइएको छ।
राष्ट्रिय खाद्य बैंकले हालसम्म तेल, गेडागुडी, अन्न, माछा, कुखुरा, बाख्रा लगायतका खाद्य उत्पादन तथा पशुपालनसम्बन्धी योजनामा प्राथमिकता दिँदै आएको छ। लगानीका हिसाबले खाद्य तथा कृषि क्षेत्र सुरक्षित र आकर्षक रहेको भन्दै बैंकले उपयुक्त प्रतिफल दिने परियोजनामा केन्द्रित भएको जनाएको छ।
यसैक्रममा, कम्पनीले निकट भविष्यमै तेल मिल तथा उत्पादन–प्रशोधन उद्योग सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ।