सिंहदरबारका गेटभित्र आज जनताको सपना निदाएका छन् – Sagarmathapana:: Online News Portal

सिंहदरबारका गेटभित्र आज जनताको सपना निदाएका छन्

   २०८२ श्रावण १८ गते  

आजको सम्पादकीय,रामराजा के सी
देश, जुन कहिल्यै लुटिनु हुँदैनथ्यो, आज त्यही देश नङ्गिएको छ । नेतृत्वको लोभ, नीति विहीनता र जनभावनाप्रतिको निरन्तर उपेक्षाका कारण । सिंहदरबारका गेटभित्र आज जनताको सपना निदाएका छन् ।

संसदमा बसी ‘देश बनाउने’ जिम्मा लिएका प्रतिनिधिहरू भौतिक रूपमा उपस्थित हुन्छन्, तर चेतनाले सुतिरहेका छन् । उनीहरूका आँखाभरि निन्द्रा छ, कानभित्र जनताको चिच्याइरहेको पीडा टक्क अडिएको छैन, हृदयभित्र देशप्रेमको ताप छैन । संसद कुनै निर्णय केन्द्र होइन, बरु स्वार्थको मञ्च बनेको छ ।

भ्रष्टाचार अब भित्तामा टाँसिने खबर होइन, यो त दैनिक व्यवहारको हिस्सा बनेको छ। प्रत्येक दिन, प्रत्येक कार्यालय, प्रत्येक निर्णय—कहीं न कहीं घूसको गन्ध नआउने ठाउँ बिरलै छ। त्यो गन्ध अब सामान्य भइसकेको छन् नेताहरूलाई डरलाग्दो लाग्छ, न त जनतालाई अचम्म । नयाँ-नयाँ उपाय र प्रविधिबाट भ्रष्टाचार संस्थागत हुँदैछ—सरकार परिवर्तन हुन्छ, तर भ्रष्ट प्रवृत्तिको प्रकृति कहिल्यै परिवर्तन हुँदैन ।

युवा पुस्ताको कथा झनै पीडादायी छ । पढेलेखेका, सक्ने, सिर्जनशील दिमागहरू स्वदेशमा सम्मान, अवसर र सुरक्षाको खोजीमा हराएपछि विदेशी भूमिको आश्रय खोज्छन् । उनीहरू श्रम बेचेर देशको भात पकाइरहेका छन् तर आफू भोकै छन् । सपना बेचेर घर पठाउँछन्—तर आफू सपनाविहीन छन् ।

देशको व्यापार, उद्योग, कृषि, उत्पादन सबै अस्तव्यस्त छन् । बजारमा ताजा उत्पादनभन्दा ताजा मूल्यवृद्धि आउँछ। घरेलु उद्योगहरू बन्द हुँदैछन्, कृषक निराश हुँदैछन्, श्रमिक पलायन हुँदैछन् । यति बेला हाम्रो अर्थतन्त्र घुँडामा छ चलिरहेको छ भने पनि रेमिट्यान्सको भरमा, जुन बेलाकाहिँ बन्द भइदियो भने, सासै रोकिएला ।

तर यत्रो संकटको बीचमा पनि नेतृत्व सत्ता जोगाउने अंकगणितमै व्यस्त छ । जनताको पेटभन्दा ठूलो उनीहरूको पद बन्छ। सडकमा रोएको आमाको स्वर, विदेशबाट बाकसमा फर्किएको छोराको लास, असपतालमा उपचार नपाएर मरेको बिरामी—यी सबै दृश्यहरू उनीहरूका लागि सामान्य भइसकेका छन् ।
अब प्रश्न उठ्छ—गल्ती कस्को हो ?
के केवल नेताको ? कि हामी सबैको ?

हो, नेतृत्वको चरित्र कलंकित छ, तर हामी पनि सजग नागरिकको रूपमा कति उत्तरदायी छौं ? भोट बेच्ने, नेताको चाकरी गर्ने, आवाज नउठाउने, प्रश्न नगर्ने हामी नागरिक पनि त यस अवस्थाका सह साजेदार हौं ।

अब पनि हामी मौन बस्यौं भने, इतिहासले हाम्रो पुस्तालाई कायरको संज्ञा दिनेछ । अब नेतृत्वले सच्चिनुपर्छ । अब प्रणाली, प्रवृत्ति र परिपाटी बदलिनुपर्छ । देश बनाउने हो भने यो सस्तो भाषण र खोक्रा नाराको समय होइन ठोस निर्णय, इमानदार सोच र समर्पित कर्मको युग आउनुपर्छ ।

देशलाई डुब्नबाट बचाउने शक्ति अझै जनताकै हातमा छ तर त्यो हात उठ्नुपर्छ, चेत खुल्नुपर्छ, आवाज बुलन्द हुनुपर्छ ।

अब पनि चेत नआए, फेरि इतिहास नबनौं ।
देश गुमाउँदा आँसु नपुछौं, किनभने त्यो आँसु लाजको प्रतीक हुनेछ अन्तिम लाज ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै