ठमेल–महाराजगन्ज क्षेत्रबाट गुन्डागर्दीमा संलग्न ४७ भन्दा बढी पक्राउ,चक्रे मिलन र सानुभाइ पनि नियन्त्रणमा
काठमाडौं।राजधानी काठमाडौंका ठमेल र महाराजगन्ज क्षेत्रलाई लक्षित गर्दै प्रहरीले बिहीबार राति विशेष अपरेसन चलाएको छ । क्लब, रेष्टुरेन्ट तथा दोहोरी साँझमा बढ्दो हप्ता असुली र झैझगडाका घटना नियन्त्रण गर्न गरिएको कारबाहीमा ४७ जना भन्दा बढी व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमध्ये चर्चित गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन र अर्का आपराधिक गतिविधिमा संलग्न भनिएका युवराज गुरुङ उर्फ सानुभाइ पनि छन्। चक्रे मिलनलाई महाराजगन्जस्थित साम्बाला होटलबाट रातिको समयमा नियन्त्रणमा लिइएको हो भने सानुभाइ बिहीबार बिहान ठमेलको एक दोहोरी साँझबाट पक्राउ परेका हुन्।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले “विशेष अपरेसन” नाम दिइएको कारबाहीका क्रममा उक्त नियन्त्रण लिएको जनाएको छ। क्लब तथा रात्रिकालीन व्यवसायमा धम्की, कुटपिट, हप्ता असुली, र अन्य आपराधिक गतिविधिमा संलग्न समूहमाथि प्रहरीको निगरानी तीव्र भएको छ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले घटनासम्बन्धी थप विवरण सार्वजनिक गर्दै राजधानीमा अपराधमुक्त वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।












