सडक स्तरोन्नतिसँगै मुस्ताङमा पर्यटकको चाप बढ्दो
काठमाडौं।जोमसोम–कोरला सडकको स्तरोन्नति भएपछि मुस्ताङमा पर्यटकको चाप उल्लेखनीय रूपमा बढेको छ। विशेषगरी म्याग्दी र मुस्ताङ खण्डमा कोरला सडकको झण्डै दुई तिहाइ भाग सुधारिएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या दोब्बरले बढेको पाइएको हो।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले देशको प्रमुख गन्तव्य मानिने मुस्ताङमा मुक्तिनाथ मन्दिर, कागबेनीधाम, दामोदरकुण्डजस्ता धार्मिक स्थलहरूका साथै लोमान्थाङ दरबार, कोरला नाका, ढुम्बाताल, घर गुम्बा, मार्फा र जोमसोम बजारजस्ता प्राकृतिक तथा सांस्कृतिक स्थलहरूले पर्यटकलाई आकर्षित गर्दै आएका छन्।
मुस्ताङको विशिष्ट भूगोल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरहरू, साथै यहाँको मौलिक सांस्कृतिक जीवनशैलीले जुनसुकै उमेर र रुचिका पर्यटकलाई लोभ्याउने गरेको छ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनामा कुल ६ लाख ७८ हजार ५३६ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख ५४ हजार ३२६ पर्यटकले भ्रमण गरेका थिए।
यस वर्ष साउनदेखि जेठसम्म स्वदेशी ५ लाख ३९ हजार ८७२ तथा विदेशी १ लाख ३८ हजार ६६४ पर्यटक मुस्ताङ पुगेका छन्। गत वर्ष यो अवधिमा नेपाली ३ लाख ५४ हजार ९२७ र विदेशी ९९ हजार ३९९ जना थिए।
महिनावार तथ्याङ्क हेर्दा स्वदेशी पर्यटक सबैभन्दा धेरै कात्तिक महिनामा ९९ हजार १७६ र चैत महिनामा ८९ हजार ३४४ जना मुस्ताङ पुगेका थिए। विदेशी पर्यटकतर्फ भने जेठमा २८ हजार ३७२ र वैशाखमा २६ हजार २९ जना आएका थिए।
सडक पहुँच सुधारसँगै मुस्ताङको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको अनुभव लिन आउने पर्यटकको सङ्ख्या आगामी वर्षहरूमा अझै बढ्ने अपेक्षा गरिएको छ। स्थानीय पर्यटन व्यवसायीहरू पनि यस प्रवृत्तिप्रति उत्साहित छन् र थप पूर्वाधार विकासको माग गरिरहेका छन्।












