समाजमा हराउँदै गएको मानवता र पत्रकारितामा प्रविधिको चुनौतीबारे कार्यशाला सम्पन्न – Sagarmathapana:: Online News Portal

समाजमा हराउँदै गएको मानवता र पत्रकारितामा प्रविधिको चुनौतीबारे कार्यशाला सम्पन्न

   २०८२ जेष्ठ २५ गते  

हेटौंडा,मकवानपुर।हेटौंडा उप-महानगर-पालिकाकी मेयर मीनाकुमारी लामाले पछिल्लो समय समाजमा मानवता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेकी छिन्। शनिबार हेटौंडामा सम्पन्न कार्यशालामा सम्बोधन गर्दै उनले देश र समाजप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक बन्दै गएको र यसको असर व्यवस्थामा समेत देखिन थालेको बताइन्।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित “सञ्चार क्षेत्रमा प्रविधिले ल्याएको चुनौती र अवसर” विषयक कार्यशालामा मेयर लामाले वर्तमान संविधान र व्यवस्थामाथि नै शंका उठ्ने अवस्था सिर्जना भएको उल्लेख गरिन्।

“सकारात्मक समाज निर्माणमा सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ,” मेयर लामाले भनिन्, “पत्रकारहरूले नेताहरूको भिजनलाई तल्लो तहसम्म पुर्‍याउने र नेतृत्वलाई जवाफदेही बनाउने गरी कलम चलाउनुपर्छ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले पत्रकारहरू सुरक्षित वातावरणमा काम गर्न सकून् भन्ने सुनिश्चितता राज्यले दिनुपर्ने बताए। “तीन तहका सरकारहरू प्रेसलाई कानुनी रूपमा नियन्त्रण गर्ने प्रयासमा देखिएका छन्,” दाहालले भने।

बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरले प्रविधिको तीव्र विकासले परम्परागत पत्रकारिता संकटमा परेको उल्लेख गरे। साथै, सञ्चार रजिस्ट्रार रेवती सापकोटाले रचनात्मक पत्रकारिता, एआईले निम्त्याउने चुनौती र यसका सकारात्मक पक्षहरूबारे प्रस्तुति दिए। महासचिव दाहालले पत्रकार आचारसंहिता र विपद् पत्रकारितासम्बन्धी प्रशिक्षणसमेत दिए।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले गरेका थिए। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, पत्रकार महासंघ बागमतीका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईँ, सल्लाहकार अञ्जली थापा, पूर्व अध्यक्षहरू तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै